मेरो जीवन

डेराभाडा तिर्न नसक्ने म, अहिले काठमाडौँमा तीनवटा घर छ​

उनले त्यो समय सिकर्मी भेटिछन्, टाप ठोकिन्

person explore access_timeअसोज ३, २०७८ chat_bubble_outline0
तस्बिर : सुवास श्रेष्ठ

एक समय काठमाडौँका सडकमा ठेला चलाएर जीवन गुजारा गर्ने ताराबहादुर कुँवर अहिले सफल व्यवसायीको सूचीमा गनिन्छन् । ‘जीवनमा झार खानु, तर हार नखानु’ भन्ने कथन आत्मसात गर्दै अगाडि बढेका उनी अहिले ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’का मालिक हुन् ।

काभ्रेपलाञ्चोकबाट ११ वर्षको हुँदा काठमाडौँ छिरेका उनी अरूको घरको काम छोडेर ठेलागाडा धकेल्न थालेका थिए । ठेलागाडादेखि व्यवसाय काम सुरु गरेका उनी रिक्सा, टेम्पो, ट्रिपर, डोजर हुँदै ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’ व्यवसायसम्म स्थापित छन् ।

पछिल्लो समय चक्रपथ सरसफाइका अभियन्ता भनेर चिनिने उनी विभिन्न सामाजिक सङ्घसंस्थामा रहेर कामसमेत गर्दै आएका छन् । हेभी इक्युपमेन्ट व्यवसायी महासङ्घका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी ताराबहादुर कुँवरका जीवनका केही भित्री पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा  उनकै शब्दमा ।

पकाउने फुर्सद कहाँ

गाउँको मानिस भएकाले मकैको ढिँडो, नेपाली खाना दाल, भात र तरकारी नै मनपर्छ । माछा, मासुलगायत सबथोक मीठो लाग्छ । पिजा, बर्गर टाइपका खानेकुरा मनपर्दैन ।

पहिले व्यापार, व्यवसायका लागि मानिसहरूको चाकडी गर्न रेस्टुरेन्ट लगेर खुवाउनुपर्ने भएकाले धेरै जान्थेँ । अचेल जान्न । रेस्टुरेन्टको बढी मनपर्ने थुक्पा, मम नै हो । पकाउने फुर्सद हुँदैन । फुर्सद भयो र पकाउन मज्जा लाग्छ ।

सजग छु

फिट्नेसमा सजग छु । एक्सरसाइज गर्छु । पहिले काम धेरै गर्थें, त्यसैले एक्सरसाइज हुन्थ्यो । अहिले फिट्नेसका लागि मर्निङवाक, होटल सोल्टीको फिट्नेस क्लबमा ट्रेडमिल, साइक्लिङ गर्ने, स्टिम बाफ लिने गर्छु ।

घरमा फिट्नेसका लागि ट्रेडमिल, डम्बेल लगायतका सामान छन् । त्यो छोराहरूले प्रयोग गर्दछन् ।

पहिरन किन्दा पसिना छुट्छ

पहिले हात्तीछाप चप्पल, हाफ पाइन्ट लगाएर हिँडियो । अहिले सर्टपाइन्ट र कोटमा टिपटप भएर हिँड्न मनपर्छ । मनपर्ने पोसाक सर्टपाइन्ट नै हो । दौरासुरुवाल लगाउन सजिलो लाग्छ । दौरासुरुवाल लगाउँदा भीआईपी, नेताजस्तो देखिन्छ । त्यसैले दौरा, सुरुवाल, विवाह, व्रतबन्ध लगायतमा विशेष अवसरमा लगाउँछु ।

पहिरनमा सेतो, रातो, हरियो मेरो मनपर्ने रङ्ग हो । पहिरन सेलमा राखेको छ भने ब्रान्डेड पनि किन्छु । विदेश जाँदा पनि मैले ब्रान्डेड र महँगो पोसाक किनिनँ । मिहिनेत गरेर कमाएको पैसा पहिरनमा खर्च गर्दा पसिना आउँछ ।

 

 

 


पुस्तक पढ्छु 

पुस्तक पढ्न मनलाग्छ तर व्यवसायी भएकाले फुर्सद भयो कि कसलाई खुसी पार्ने, कसलाई चाकडी गर्ने, कसलाई शुभकामना पठाउने भन्नेतिर नै धेरै ध्यान जाँदो रहेछ । जीवनी, मर्मस्पर्सी कथा समेटिएका पुस्तक पढ्न मनपर्छ ।

पेसाले घुमायो

घुमघाममा नयाँ ठाउँमा पुग्न रुचि छ । देशका जति भूभाग पुगेँ पेसाको दौरानमा पुगेँ । घुम्नै भनेर एक पटक परिवार लिएर निस्किएको थिएँ ।  त्यो समय केही स्थान घुमियो ।

विदेशका २७, २८ देश पुगेँ । सबै ठाउँ कामकै सिलसिलामा पुगेको हो । अमेरिका र अस्ट्रेलिया अहिलेसम्म पुग्न सकेको छैन । जाने अवसर मिल्थ्यो पनि होला अहिलेसम्म । कोरोनाको लकडाउनले बिगार्यो । त्यहाँ पुग्न पाए, हेर्न पाए हुन्थ्यो भन्ने छ ।

के को फुर्सद

फुर्सद छैन । पहिले आफैँ काममा दौडनुपर्थ्यो, अहिले अरूलाई कुदाउनुपर्छ । पछिल्लो समय छोराहरूले पनि काम हेर्न थालेकाले केही फुर्सद निकाल्न थालेको छु । नत्र दिनको १८ घण्टासम्म काम गर्थें । अहिले पनि रातिको ११ बजे अगाडि कहिल्यै सुतेको छैन । बिहान ६ बजे अगाडि उठेर काममा लाग्छु ।

के खेल्न पाउँथेँ ?

खेलकुदमा धेरै रुचि त थियो । तर खेल्ने अवसर जीवनमा मिलेन । गाउँमा डन्डिबियो खेलियो । काठमाडौँ आएपछि अरूको घरमा काम गर्ने मानिस म खेलकुदमा के समय दिन पाउँथे । अहिले हेर्न पनि मनपर्दैन ।

कान कम सुन्छु

पहिले सस्तो खालको मोबाइल बोकेर धेरै कुरो गरियो । बिहानदेखि बेलुकासम्म मोबाइलमै कुरो हुन्थ्यो । सायद त्यसैले होला अहिले कान कम सुन्छु ।

मसँग अहिले भने सामसुङ ब्रान्डको एउटा राम्रो मोबाइल छ । पहिले नोकिया लगायत केही ब्रान्ड बोकियो । फोन गर्ने, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने काममा मोबाइल प्रयोग गर्छु । मोबाइल छिटोछिटो फेर्न बानी छैन, हरायो फुट्यो भने फेर्छु ।

फिल्ममा मन छैन

चलचित्र हेर्न मन लाग्दैन । कहिलेकाहीँ परिवारसँगै फिल्म हल पुगेको छु । अहिलेसम्मको जीवनमा ६, ७ वटा फिल्म हेरियो होला कि । त्यो पनि नेपाली मात्रै । धेरै फिल्म हेरिन्थ्यो पनि होला फुर्सद नै भएन । फिल्म निर्माणको अफर भने धेरै आएका थिए । त्यतातिर रुचि नभएकाले अहिलेसम्म हात हालेको छैन ।

मेरो पेसा व्यवसाय

पेसा मेरो व्यवसाय हो । हेर्दा ठूलो व्यवसायी जस्तो देखिन्छु म । भित्री कुरो अहिले पनि स्ट्रगल  गर्दैछु । समयअनुसार पेसा परिवर्तन भएकोले सधैँ स्ट्रगलमा छु ।

पछिल्लो समय ट्रेडिङ र हाइरिङ बिजनेस गर्छु । ट्रेडिङ​मा दक्षिण कोरियाबाट ब्रेकर ल्याएर बेच्छु । श्रीलङ्काको हेमाज ब्रान्डको कस्मेटिक प्रोडक्ट भित्र्याएर बेच्छु । दुबईबाट लुब्रिकेन्ट्स र हेबी इक्विमेन्टका पार्टहरू बेच्छु । ५ वर्षदेखि यो काम थालेको हो ।

२०३३ सालमा दाइसँग अध्ययनका लागि काठमाडौँ छिरेको म । सुरुमा एक इन्जिनियरको घरमा काम गर्न थालेँ । ६ महिनापछि अर्काे मालिक चेन्ज भयो । त्यसपछि फेरि मालिक परिवर्तन भएकाले १९ महिना काम गरेको ९५ रूपैयाँ लिएर टेकु भन्सार आएर भारी बोक्न थाले ।

त्यही लोड–अनलोड, ज्यामी, ठेलागाढा, रिक्सा, सेक्युरटी गाडदेखि लुगा सिलाउने कामसम्म गरियो ।

त्यसपछि केही रिक्सा किने, रिक्सा बेचर ट्याम्पु ड्राइभर भए । ट्याम्पु किने, दिनभर अरूलाई दिएर रातभर मैले ट्याम्पु चलाएँ । त्यो समय काठमाडौँमा एउटा घर बनाउन सफल भएँ ।

फेरि त्यही घर फाइनान्समा राखेर एक मिनीट्रक किने पछि ७ वटा बनाएँ । मिनीट्रक बेचेर ठूलो ट्रक किने । यो बेचेर केही टिपर किनियो । टिपरका लागि लोड गर्न हेभी इक्वेमेन्ट किनियो ।

त्यो भाडामा पठाउन फाइदा देखेर त्यसै गरेँ । काम गर्दै जाँदा १२, १३ वटा डोजर भए । त्यो पनि अहिले चुल्ठे, मुन्द्रे सबैले किन्ने भएकाले यो कामबाट पनि अब हुँदैन भनेर ट्रेडिङको बिजनेस सुरु गरेको हो ।

ट्रेडिङको बिजनेसका लागि पहिले नेपालबाटै सामान उठाएर बेचेँ । यो क्रममा धेरैले ठगेछन् । ठगिएको थाहा पाएपछि विदेशबाट सामान ल्याएर बेच्दै आएको छु ।

विदेशबाट सामान झिकाएर बेच्ने क्रममा डोजरको तेल बेच्ने मानिस म, कपालमा लगाउने तेलसम्म बेच्न पुगेँ । अहिले श्रीलङ्काबाट हेमाज ब्रान्डको कस्मेटिक सामानको पनि व्यवसाय गर्छु । कोरोनाले भने  बिजनेस धराप बनायो ।

मैले जेजति पेसा गरेँ । सबैबाट अहिलेसम्म सन्तुष्टि मिलेको छ । व्यवसायको विभिन्न सङ्घसंस्थामा समेत रहेर काम गरेको छु । नेपालमा हेबी इक्वेटमेन्ट सङ्घ स्थापना गरेर महासङ्घसमेत बनाएँ । अहिले संस्थापक अध्यक्षका रूपमा रहेको छु । निर्माण व्यवसायमा पनि आबद्ध भए ।

सपना दुईवटा 

सपना दुईवटा छन् । सधैँ हाम्रो देशमा अरूको सामान आयात गरेर बेचबिखन मात्र किन गर्ने भनेर देशमै केही उद्योग, कलकारखाना खोलेर केही गर्ने सोच छ ।

अर्काे वृद्धवृद्धाका लागि र अभिभावकविहीन बालबालिकाका लागि मनोरन्जनमूलक वातावरणसहितको बस्ने, खाने र जीवन बिताउने ठाउँ बनाउने हो । त्यो ठाउँमा सबै सुविधा दिने सोच छ । महिनाको तीन रूपैयाँ भाडा तिरेर बस्ने मानिस म । अहिले मेरो घरको ४ लाख भाडा आउँछ । त्योमध्य डेढ लाख समाज सेवामा लगाउँछु ।

विवाह दुई पटक

नेपालमा गरिबका छोराले केटी पाउन गाह्रो छ । किनभने केटीका बुबाआमाले जग्गा जमिन हेर्छन् । म पनि ६ भाइ छोरामा हुर्किएको व्यक्ति । जन्मेर हुर्किएको आसपासमा कसैले केटी दिएनन् । हेटौँडामा गएर विवाह गरेँ । पहिलो विवाह १७ वर्षको उमेरमा भएको थियो । विवाह हुँदा म ज्यामी काम गर्थें । उनले त्यो समय सिकर्मी भेटिछन् । उसैसँग टाप ठोकिन् ।

पहिली भागेको दुई वर्षपछि अहिलेकी श्रीमती विवाह गरेको हो । उनी मामाकी साली हुन् । मामाको ससुराली गएको बेला भेट भयो, मन मिल्यो र विवाह गर्यौँ । विवाहपछि हाम्रो प्रेम बस्यो । हामी दुवैको जीवन अहिले सुखमय छ ।

दुःखसुख

सँगैको साथीले मीठो खाँदा, स्कुल जाँदा आफू अरूको घरमा काम गर्न बसियो । यो पहिलेको दुःख हो । अहिले दुःख छैन । काठमाडौँमा डेरा नपाउने, डेरा भाडा तिर्न नसक्ने मानिस म । अहिले दुई तीनवटा घर छ । एक हजार ऋण नपत्याउने मलाई आज १०, १२ करोड ऋण दिन्छन् ।

तर पनि म अहिले खुसी छैन । किनभने यो देशमा म एक्लै बनेर हुँदैन । मजस्तै धेरै मानिस बन्नुपर्छ सफल हुनुपर्छ भन्ने हो । सबैले दुःख गरेर सफलताको बाटो रोजे हुन्थ्यो भन्ने लाग्छ ।

भूलहरू भए

जीवनमा भूलहरू अलिअलि भएका होलान् । सधैँ पछुताउनुपर्ने ठूलै भूल भएको छैन । एकपटक काठमाडौँ आउने क्रममा बनेपाको गेस्ट हाउसमा बसेका थियौँ । सो क्रममा दुई वर्षकी छोरी निदाएकाले त्यसै छोडेर श्रीमान् श्रीमती फिल्म हेर्न गयौँ । तीन घण्टापछि फर्किंदा पनि छोरी सुतिरहेकी रहिछन् । यदि उनी उठेर उताउति हिँडेको भए । हामीले कहाँ खोज्नु ? त्यसरी छोरी छोड्नु भूल थियो ।

एक दिन कामको तनावले घर फर्किपछि रिसको झोँकमा ट्वाइलेटको ढोकामा एक लात हिर्काएँ । भित्र श्रीमती होलिन् भनेको छोरी रहिछन् । त्यो घटनाले छोरी दुई तीन दिन तनावमा रहिन् । त्यो पनि मेरो भूल भयो ।

हल्का पिउँछु

जीवनमा रक्सी खाएर बेहोस् भएको छैन । कहिले काही अलि अलि हल्का पिउँछु । अरूलाई रक्सी नखुवाए मेरो काम नै हँुदैन । त्यसैले खानेबानी बस्यो ।

मापसेमा ब्रान्ड हेरिएन । पहिले लोकल ठर्रादेखि सबै प्रकारको खाइयो । पछिल्लो समय ब्ल्याक लेबल खान्छु । घरमा बस्दा खादिनँ । घरबाहिर रहँदा, साथीभाइको जमघट हँुदा पिउँछु । म क्षत्रीको छोरो हुँ । घरमा रक्सी बासी राख्नु हुँदैन भन्ने मान्यताले घरमा राख्ने गरेको छैन ।

रोग केही छैन

रातोमासु, गेडागुडी खायो भने युरिक एसिडले सताउँछ । भगवानको कृपाले अन्य रोग केही छैन । नर्मल प्रेसर देखिएकाले एउटा औषधि खान थालेको छु ।

राशि ‘तुला’

मेरो राशि ‘तुला’ हो । हजुरबुबाले तारा भनेर राखिदिनु भएको हो । पण्डितले रोहिनोबहादुर कुँवर राखिदिएका रहेछन् । दुवै नामबाट मेरो राशि तुला नै पर्दाे रहेछ । ग्रहदशमा विश्वास लाग्छ । घरमा भएको समय पूजा नगरी केही खान्नँ । हेराउने, जुराउने पनि गर्छु ।

मृत्यु सहज होस्

मृत्यु जीवनको अकाट्य सत्य हो । मृत्यु एक दिन हुन्छ भन्ने छ । तर सहज होस्, काम गर्दा गर्दै हासीखुसी जान पाइयोस् भन्ने छ । अब धन सम्पत्ति होस् कि नहोस् । मर्ने बेलामा दुःख नहोस् भन्ने चाहना छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।