बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बञ्चरेडाँडामा फोहोर फाल्न लागिएको भन्दै स्थानीयको आपत्ति

शनिबार, ०२ असोज २०७८, १७ : २९
शनिबार, ०२ असोज २०७८

काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । 

सरकारी निकायहरुले बञ्चरेडाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् । 

स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए । उनले सरकार र त्यहाँका स्थानीयहरुबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरूको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनु पर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्ने लगायतका माग पूरा नहोउन्जेल बञ्चरेडाँडामा फोहोर खस्न नदिने बताए । 

स्थानीय उप्रेतीले भने, ‘यो समस्या सरकारको पनि हो, हाम्रो पनि र सबैको हो, काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ, हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौँ, वरिपरी ५ सयदेखि ७ सय वटा घरहरु छन् त्यसको व्यवस्थापन गरिनुपर्छ, यहाँ अधिकार सम्पन्न समिति बन्नुपर्यो, यो समिति बने यहाँका जनताले सरकारले वारी र पारीका जनतालाई दिइरहेको ३÷३ करोड पैसाले यहाँको जनताले प्रत्यक्ष रुपमा विकास निर्माणमा अनुभूति गर्न पाउँथे, त्यो पाएको अवस्था छैन, त्यो अनुभूति गर्न र समग्र मुद्दा हल गर्न अधिकार सम्पन्न समिति नै एकमात्र विकल्प हो, त्यसपछि स्थानीयको रोजगारीको ग्यारेन्टी, फोहोरलाई उद्योगमा लिएर जानुपर्यो र अर्को कुरा भनेको कोल्पो खोलो न्यूनिकरण हो, जसरी सिसडोलमा अहिले मानिसहरुको बालीनाली बिग्रिएको छ, पानीमा पस्दा रोग लागेर ज्यान गएको समेत कुरा छ, त्यो हुनु भएन,यदी सरकारले हेलचेक्राइँ गर्छ र सिसडोलकै जस्तो सम्झिन्छ भने हामी त्यसको प्रतिवाद गर्छौं, बञ्चरे डाँडामा यी ५ बुँदे स्थानीयका माग पूरा नभए फोहोर खस्न दिइनेछैन ।’

त्यस्तै अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए । उनले तत्काल यसले असर नगरेपनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिती सिर्जना हुने बताए । 

स्थानीय उप्रेतीले भने, ‘सरकारले फोहोरले असर गर्ने जति जग्गा पनि अधिग्रहण गरेको छैन, यसले तत्काल हसर नपरे पनि भविष्यमा ठूलो संकट पैदा गर्नेछ, लिचडको व्यावस्थापन गर्ने स्थान बनिसकेको छैन, तर सरकारले फोहोर फाल्ने भनिरहेको छ, २५ महिनाका लागि फोहोर फाल्न दिइएको सिसडोलमा १५ वर्षसम्म फोहोर फालियो, त्यो हिसावले बञ्चरेडाँडामा फोहोर ल्याउन लागिएको हो भने नआअ‍ोस् भन्न चाहन्छु म, व्यवस्थित तरिकाले, जनतालाई सास्ती नहुने किसिमले ल्याउने हो भने हामीबाट केही समस्या छैन ।’

त्यस्तै शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुव प्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताए । 

त्यसैगरी विश्व सरसफाइ अभियन्ता राजमान मानवले फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको बताए । उनले सुन्दर उपत्यकालाई व्यवहार, सोच र राज्यको गैरजिम्मेवारीले काठमाडौं फोहोर भइरहेको बताए । 

सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरेडाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् । स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरेडाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने माग स्थानीयहरुको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप