मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

शनिबार, ०२ असोज २०७८, १५ : २५
शनिबार, ०२ असोज २०७८

धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो । 

दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । “टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ”, उनले भने, “थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउने छ ।” टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ । 

बन्द तामाखानी हाल बेवारिसे अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन् गर्न खनिएका दर्जनौँ सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । 

स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन् गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र सीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । 

धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खनन्को वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क हुनुहुन्छ । गुर्जा, मच्छिम, कुइँनेमङ्गले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन् र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप