मकवानपुरका पालिकामा काँग्रेस अधिवेशनको सरगर्मी बढ्यो

मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुको अधिवेशनका लागि तयारी भइरहेको छ । सोही क्रममा मकवानपुरमा पनि नगर अधिवेशनको तयारी थालिएको छ ।
भदौ २० गते जिल्लाका १०२ वटा वडाको अधिवेशन सम्पन्न गरेको काँग्रेस पालिका अधिवेशनमा जुटेको हो । आगामी असोज ९ गतेका लागि पालिका र क्षेत्रीय अधिवेशनको मिति तय गरिएको छ ।
मकवानपुरको १० वटा स्थानीय तहमा असोज ९ गते अधिवेशन हुनेछ । सोही क्रममा हेटौंडा उपमहानगरपालिकामा पनि अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्वका आकांक्षीले पनि दाबी गर्न थालेका छन् ।
हेटौंडा उपमहानगर समितिको नेतृत्वका लागि ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले चुनावी नारा तथा प्यानल निर्माण र प्रचार प्रसारमा सक्रियता बढाएका छन् ।
बागमती प्रदेशको राजधानीसमेत रहेको कारण हेटौंडा उपमहानगर समितिको नेतृत्वलाई महत्वका साथ हेरिएको छ ।
काँग्रेसको हेटौंडा उपमहानगर समितिको नेतृत्वका लागि उत्सव इटेनी, राजेश बानियाँ, महेन्द्र राउत चुनावी मैदानमा होमिएका छन् ।
२०५० सालदेखि काँग्रेसमा सक्रिय बानियाँले तरुण दल र अन्य भ्रातृ संगठनमा रहेर काम गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको वडा ५ को अध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै, दुई दशकदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा आएका राउत भने युवा पुस्ताको प्रतिनिधित्वका लागि नेतृत्वको दाबी गरेका छन् ।
देशको राजनीति परम्परागत शैलीको भएको भन्दै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
अब नयाँ पुस्ताले देशमा फरक ढंगको राजनीति सुरु गर्नुपर्छ भन्ने सोचका साथ आफू हेटौंडा नगरको सभापतिमा उम्मेदवार बनेको उनले बताए ।
पार्टीको जिल्ला सदस्य बनिसकेका राउतले मकवानपुर उद्योग वणिज्य संघमा महासचिवको जिम्मेवारी पनि बहन गरिसकेका छन् । २०४६ सालको आन्दोलनदेखि विद्यार्थी राजनीति सुरु गरी नेविसंघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुँदै नेपाली काँग्रेसको विभिन्न तहमा सक्रिय भूमिकामा रहँदै आएका छन् ।
नेपाली राजनीतिमा पुस्ता हस्तान्तरणको समय आएकाले युवा शक्ति र सोचलाई काँग्रेसले स्थान दिनुपर्ने उनको धारणा छ ।
कोरोना संकटका बखत मकवानपुरमा कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गरेका उत्सव इटेनी पनि नगरसभापतिको उम्मेदवार बनेका छन् ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिकाको कोरोना संक्रमण व्यवस्थापन समितिका संयोजक इटेनी विगत लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न तहका संरचनामा रहेर सक्रिय राजनीति गरिरहेका छन् ।
व्यवसाय र राजनीतिलाई समानान्तर रुपमा अघि बढाइरहेका इटेनी २०५१ सालमा मकवानपुरबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट मकवानपुर जिल्ला सदस्य निर्वाचित इटेनीलाई १३ औं महाधिवेशन भने फापेन । १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका इटेनी पराजित हुन पुगे ।
उनले १४औं महाधिवेशनमा सबै जनाको साथ र सहयोगबाट आफू नगर सभापतिमा निर्वाचित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्बिरहरु)
-
हरित अर्थतन्त्रमा नेपाल रोल मोडल देश बन्नसक्छ : जलवायु वित्त विज्ञ क्षेत्री