मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

​लोकबहादुरको भाइबारे अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली संखुवासभामा

शनिबार, ०२ असोज २०७८, ०९ : ५८
शनिबार, ०२ असोज २०७८

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा आइपुगेको हो ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न प्रहरी टोलीलाई संखुवासभा पठाइएको हो । हत्याको अनुसन्धान गरी बिराटनगर फर्किएको प्रहरी टोली लोकबहादुरको भाइ नरेश कार्कीको संलग्नताको खोजी गर्दै फेरि संखुवासभा फर्किएको हो ।

भदौ २१ गते बिहान भएको हत्याकाण्डपछि मृतक रञ्जना कार्कीको मोबाइल हराइरहेको थियो । सो दिन बिहान ५ः४४ बजे रञ्जनाको ओप्पो कम्पनीको मोबाइलको स्विच अफ भएको थियो । प्रहरीले उक्त मोबाइलको खोजी गर्ने क्रममा लोकबहादुरका भाइ नरेश कार्कीले उक्त मोबाइल चलाएको पाइएपछि नरेशलाई बुधबार नरेशलाई समेत नियन्त्रणमा लिइएको थियो ।

नरेशले उक्त मोबाइल कहाँबाट कसरी पाए भन्ने सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान टोली पुनः संखुवासभा फर्किएको हो । यद्यपि हत्याका आरोपी लोकबहादुरले अहिलेसम्म पनि हत्यामा आफ्नो मात्रै संलग्नता रहेको बताइरहेका छन् । तर घटनामा नरेश मतियार पो थिए कि भन्ने पाटोको अनुसन्धान गर्न अनुसन्धान टोलीलाई संखुवासभा पठाइएको डिआइजी बिसीले रातोपाटीलाई बताए ।

यसअघि हत्यामा नरेशको समेत संलग्नता रहेको वा हत्या हुँदै गर्दा नरेशले समेत देखेको समाचार बाहिर आएको थियो । तर प्रहरीले समाचार आएकै दिन विज्ञप्ति निकालेर कोही पक्राउ नपरेको स्पष्टीकरण दिएको थियो ।

पक्राउ परेको लोकबहादुरका भाइ नरेश कार्कीले भने उक्त मोबाइल आफ्नो घरमा भेटिएको बयान दिएकाले मोबाइलका सम्बन्धमा थप अनुसन्धानका लागि टोली पठाइएको प्रदेश प्रहरीले जनाएको छ । उक्त हत्याकाण्डमा मोबाइल फोन एउटा महत्वपूर्ण प्रमाणका रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप