साहित्य–वार्ता

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

person explore access_timeअसोज २, २०७८ chat_bubble_outline0

 

सपरिवार अमेरिकामा बस्दै आएकी नीलम कार्की निहारिका नेपाली साहित्यमा चिनाइरहनुपर्ने, नौलो नाम होइन । ‘योगमाया’ ऐतिहासिक उपन्यासका लागि मदन पुरस्कार बिजेता निहारिकाको छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ हुम्लाबाट दुई महिनाअघि सार्वजनिक छ । लगत्तै उनी सातौं कृतिको लेखनमा जुटेकी छिन् ।   

साहित्यमा निहारिकाको आफ्नै, बेग्लै पहिचान छ । उनी विशेषतः ऐतिहासिक–सामाजिक विषयवस्तुमाथि अनुसन्धानमा आधारित साहित्य लेख्छिन् ।

निहारिकाको ‘द्रौपदी अवशेष’ हिमाली भेगमा रहेको बहुपति प्रथामा आधारित सांस्कृतिक उपन्यास हो । उच्च हिमाली भेगको सामाजिक प्रथामा आधारित उपन्यासको विमोचन पनि अमेरिका वा काठमाडौंमा नभएर हिमाली भेगमै भयो । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षबाट पुस्तकको विमोचन गराएपछि निहारिकाले सात समुद्र पारिबाटै भनेकी थिइन्– उपन्यास जुन माटोको कथामा आधारित थियो, त्यहीँ  लोकार्पण भएकोमा खुशी छु ।

यहाँ हामीले ‘द्रौपदी अवशेष’ उपन्यासको विषयवस्तु के छ, बहुपति प्रथाको चित्रण कस्तो गरिएको भन्ने विषयमा चर्चा गर्न लागेका हैनौं । बरु साहित्यकार निहारिकासँग कोरोना र लकडाउका बेलामा लेखक÷साहित्यकारहरुले भोगेको व्यवहारिक अनुभव के छ भनेर सोधेका छौंं ।

कुनै पनि ठोस विषयमा केन्द्रित नरही साहित्यकार निलम कार्की निहारिकासँग गरिएको साहित्यिक वार्ता यहाँ प्रस्तुत छ–

अचेल दिनचर्या कसरी बिताइरहनुभएको छ ?

अहिले पनि म जन्म भूमिभन्दा बाहिर नै छु । पहिला थाती राखेको उपन्यासमा पुनः काम सुरु गर्दैछु । साथै, म आफ्नो औपचारिक अध्ययनलाई पनि साथ–साथ हिँडाउँदैछु ।

पछिल्लो समय के–कस्ता पुस्तक पढ्दै हुनुुहन्छ ? यहाँलाई मन परेको पछिल्लो पुस्तक ?

म अहिले इतिहास र दर्शनसम्बन्धी पुस्तक पढिरहेकी छु । कारण, दुवै अहिले मैले गरिरहेको कामसँग सम्वद्ध छन् । भर्खर मैले पढिसकेको –वेदान्त दर्शन ( ब्रह्म सुत्र ) हो ।  

बहुपति प्रथामा आधारित छैठौं उपन्यास ‘द्रौपदी अवशेष’ दुई महिनाअघि हुम्लाबाट लोकार्पण भयो । अलिकति पनि आराम नगरी अर्को सृजना सुरु गर्नुभएको हो ?

‘द्रौपदी अवशेष’ २०७७ कै अन्त्यतिर आउने गरी तयारी भएको हो । तर, नेपालमा कोरोना दोस्रो लहरको प्रभावका कारण लकडाउन भयो । त्यसैले २०७८ मा मात्र उपन्यास बजारमा पठाइयो ।

पुस्तक पाठकसम्म पुगेर प्रतिक्रियाहरु प्राप्त नहुँदासम्म अर्को सृजनाका लागि मन बनिसकेको थिएन । जब  प्रतिक्रिया प्राप्त हुँदै गए, समीक्षा, समालोचनाहरु आए । त्यसले थप विश्वास अनि हौसला दियो । वास्तवमा मेरी आमाले भन्नुभएको विषय थाती राखेर मैले ‘द्रौपदी अवशेष’ लेखेकी हुँ । श्रावण २० मा आमाको जन्म दिनको अवसर पारेर फेरि वचनवद्धता साथ लेखन अघि बढाएकी छु ।

तपाईको साहित्य लेखन अनुसन्धान एवं सामाजिक विश्लेषणमा आधारित हुने गर्छ । यस आधारमा भन्नुपर्दा नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हामी पहिला नै  स्थापित  साहित्यको मानकमा हेरिरहेका हुन्छौं  ।  आज पनि हरेक विधामा उम्दा साहित्य सृजना नभएका होइनन् । जसरी हिजोको साहित्यलाई  आजले मूल्याकन गरेको छ, त्यसरी नै आजलाई भोलिले मूल्यांकन गर्ला ।

संख्यात्मकरुपमा हेर्दा पनि सृजना निकै भएका छन् ।  गुणात्मक सृजना पनि नभएको होइन । अहिले कति बजारमुखी भयो भन्ने पनि छ । कति राम्रा रचनाले चर्चा नपाएर थन्किएको पनि मैले देखेकी छु । ती साहित्यको पनि भोलिको आँखाले पढ्न छुटाउने छैन ।

तपाई मदन पुरस्कार पाइसक्नुभएको साहित्यकार हुनुहुन्छ । पछिल्ला सृजनालाई पुरस्कार (योगमाया उपन्यास ) ले थिचेको महसुस हुन्छ कि हुँदैन ?

अलि–अलि हुन्छ नि । पाठकको विश्वास पनि त्यति नै ओजसहितको महत्व हुन्छ । अनि आफ्नो आत्मविश्वास र लगनले त्यसलाई हलुका बनाइदिन्छ । नत्र लेखनमा अघि बढ्न सकिँदैन नि ! मैले भनेकै छु, लेखकको  प्रतिस्पर्धा अरु कोहीसँग पनि हुँदैन । हुन्छ भने आफ्नै अघिल्ला सृजनासँग हुन्छ  ।

पक्कै पनि उमेरको परिपक्वता, दिन–प्रतिदिन अध्ययनको फैलावट अनि  लेखन अनुभवका कारण पनि पहिलाको भन्दा कलम अझ परिस्कृत हुन पर्यो । नभए बराबर होला । तर, खस्किनुभएन भन्ने सोच सधैँ रहन्छ । 

यसवर्ष मदन पुरस्कारको छनोटमा परेका पुस्कहरुबारे के भन्न चाहनुहुन्छ ?

मैलेभन्दा पनि अब छिटै हुने नतिजाले भन्ला । यही कोरोना महामारीका कारण अहिलेसम्म मैले छनौटका ९ वटा  पुस्तकमध्ये  कुनै एक पनि पढ्ने अवसर पाएकी छैन । तर, छिट्टै केही पुस्तक मेरो हात पर्दैछन् । लिम्बुवानको ऐतिहासिक दस्ताबेज त मैले आगामी लेखनका लागि सन्दर्भ पुस्तकका रुपमा अध्ययन गर्नुछ ।

कोरोना महामारी र लकडाउनले साहित्यकार÷लेखकहरुलाई कस्तो प्रभाव पार्यो ? लेखकका पुस्तकहरु प्रकाशन गर्न वा बजारमा पुर्याउन समस्या भए पनि कोठामै बसेर सिर्जना कर्म गर्न लकडाउनले मद्दत पो गर्यो कि ?

कोरोनाले महामारीको रुप लिएर संसारलाई ठप्प बनाएको पहिलो केहि महिना मानसिकरुपमा निकै प्रभाव पार्यो । निकै विक्षिप्त भएँ म पनि । पढ्दै गरेको पुस्तक र लेख्दै गरेको उपन्यास त्यहीँनिर बिसाएँ । तर, अलि पछि जब भ्याक्सिनको परीक्षणमा सकरात्मक समाचार आउन लागे, कतै आशाको बत्ति देखियो । अनि अलि धैर्य हुँदै गयो मन ।  

लेख्नका लागि समयभन्दा पनि वातावरण चाहिन्छ । लेख्नका लागि  प्रशस्त समय हुनु मात्र पर्याप्त हुँदैन रहेछ भन्ने पहिलो पटक मनन गरेँ । अनि मन त्यति धेरै अधैर्य हुने रहेछ भन्ने पनि कोरोनाले नै बुझायो । समय प्रशस्त भए पनि त्यो  समय लेखन पठनका लागि उपयोगी थिएन  ।

महामारीले लेखनको विषयवस्तुलाई पनि प्रभावित पार्यो कि ?

हो, मैले पहिला लेख्दै गरेको विषय एक त अति मिहीन अध्ययन गर्नु पर्ने प्रकृतिको थियो । सामाजिक, राजनैतिक  र विश्वकै मुख्य–मुख्य ऐतिहासिक घटनाको अध्ययन गर्नुपर्ने । तिथि–मितिदेखि  ऐतिहासिक घटनामा मस्तिस्कलाई पनि अति नै सक्रिय गराउनुपर्ने । त्यो तनाबको समयमा त्यसरी मस्तिस्क मन्थन सम्भव थिएन । त्यही कारण नै हो, लेख्दै गरेको उपन्यास थाती राखेको । होइन भने वृद्धा आमाकै लागि पनि मैले ‘त्यो’ लेखिसक्नु पर्ने थियो ।

एकजना स्वास्थ्यकर्मीको पारिवारिक सदस्य हुनुको नाताले चाहिँ  कोरोना महामारीको भोगाइबारे के भन्न चाहनुहुन्छ ?

हामी कुनै अनि सदस्य कोरोनाबाट संक्रमित भएको होइन । तर, प्रत्यक्ष कोरोना संक्रमितका बिरामीको उपचारमा संग्लन स्वास्थ्यकर्मीको परिवारको सदस्य भएको हुँदा भयंकर तनाव भोग्नुपर्यो । अझ पनि भोग्नु पर्दैछ । जब पहिलो लहरमा यहाँ (अमेरिकामा) लकडाउन भयो, विद्यालयहरु बन्द भए । अति आवश्यक सेवाबाहेक सबै तिर भन्द भए । कर्मचारीहरुलाई बिदा पाएर लकडाउनमा सुरक्षित भएर घर बस्ने सुविधा मिल्यो । तर, हाम्रा लागि त्यो थिएन ।

हरेक दिन श्रीमान अस्पतालका लागि निस्कनु हुँदा  युद्धमा जान लाग्नुभएको जस्तो महसुस हुन्थ्यो । यस्तो युद्ध, जसमा शत्रु निकै शक्तिशाली छ र आफूसँग त्यो शत्रुको अस्त्रलाई परास्त गर्ने हतियार छैन ।  शत्रु अदृश्य  छ, कहाँबाट कसरी लुकेर  आक्रमण गर्दै छ भन्ने पनि थाहा छैन । त्यस्तो युद्धमा जाँदै गर्दा एक सैनिक परिवारको कस्तो मनोदशा हुन्छ होला, त्यस्तै  थियो हाम्रो हालत ।

भ्याक्सिनको परीक्षणले  सफलता पाओस्, छिटो भ्याक्सिन प्रयोगमा आबोस् भन्ने हर दिनको  कामना  थियो । अनि जो घरमा बस्न मिल्ने छ, उहाँहरु सुरक्षित घर मै बसिदिए फैलने थिएन भन्ने लाग्थ्यो । तर, कति मान्छे बेपर्बाह  भएर बाहिर हिँडिरहँदा निकै चित्त दुख्थ्यो ।

अलिकति फरक प्रशंग, कोभिड १९ को महामारीपछि अमेरिकामा रहेका नेपालीहरुको स्थिति के कस्तो छ ? साहित्यिक गतिविधिहरु के– कसरी चलिरहेका छन् ?

रोजगारीको अवस्थाको कुरा गर्दा, कति निरन्तर काममा हुनुहुन्थ्यो, उहाँहरुका अलावा  लकडाउनमा घरमा रहनुभएका ब्यक्तिहरुलाई पनि सरकारले भत्ता दिएको हुँदा कसैले पनि आर्थिक कठिनाइ भोग्नुपरेन जस्तो लाग्छ  ।

रह्यो, साहित्यिक गतिविधिको कुरा । प्रत्यक्ष उपस्थित नभए पनि जुममार्फत, भर्चुअलरुपमा घरैबाट विभिन्न देशमा रहनुभएका व्यक्तित्वहरुसँग साझा मञ्चमा झैँ कार्यक्रमहरु भए । यस्ता कार्यक्रमहरु तनाबका बेला समय व्यतीत गर्ने राम्रो माध्यम पनि हुन पुग्यो ।

यही अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन हुँदैछ, एनआरएनसँग तपाईको एट्याचमेन्ट कस्तो छ ? प्रवासी नेपालीहरुको यो संस्थाले नेपाली साहित्यको क्षेत्रमा के गरोस् भन्न चाहनुहुन्छ ? पहिले एकतावद्ध रहेका प्रवासी नेपालीहरुमा अचेल भगडा र विवाद बढ्न थालेका हुन् ? यसमा के भन्न चाहनुहुन्छ ?

म एनआरएनए भाषा साहित्य टास्क फोर्समा सल्लाहकारको भूमिकामा छु ।  गर्नैपर्ने काम धेरै छन् । मुख्य काम हाम्रो साहित्यलाई विश्व बजारमा पुर्याउन पहल कदमी चाल्न जरुरी छ  ।

हो, एनआरएनएका झगडाहरु लुकेका छैनन् । नेपालको राजनैतिक पार्टीका विवादको बाछिटा  त्यहाँसम्म पुग्नु निकै दुःखद हो ।

विगतमा दशैंका बेला पाठकलाई लक्षित गरेर धेरै पुस्तकहरु बजारमा आउँथे । प्रकाशकहरु पनि योबेला निकै सक्रिय देखिन्थे । पुस्तक मेला आयोजना हुन्थे । लकडाउनयता साहित्यकारको नजरमा दशैं खल्लो भएको हो ? तपाई यस वर्षको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

हो । दशैँका बेला धेरै पुस्तक पढिने, बिक्री हुने गर्छ भन्ने कुरा मैले पनि पत्रपत्रिका सामाजिक सञ्जालमा पढेको छु । तर, त्यो सन्दर्भमा मेरो आफ्नो अनुभव भने छैन । कारण मेरा कुनै पनि किताब दशैँको समयमा निस्किएका छैनन् ।

अघिल्लो दशैँ पनि उत्साहबिना गयो । अर्को दशैँसम्म कोरोनालाई परास्त पार्न सकौं, कोरोना विश्वबाट निर्मूल होस् भन्ने कामना हामि सबैको थियो । तर, अहिले पनि अवस्थामा सोचे जस्तो सुधार भएको छैन ।

यसपालिको दशैंमा आमाको हातबाट टीका, आशिष थाप्ने मन छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।