शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असोज ३ : संविधान दिवसमा जसपा मौन बस्ने, लोसपाले विरोध गर्ने

शुक्रबार, ०१ असोज २०७८, २३ : ०४
शुक्रबार, ०१ असोज २०७८

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ ।

संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी बनेपछि संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउने कि नमनाउने भन्नेबारे विवाद देखिएको थियो ।

गत वर्ष संविधान दिवस कसरी मनाउने भन्नेबारे जसपाभित्र विवाद बढेको थियो । त्यतिबेला जसपाको एउटा पक्ष मौन रह्यो भने अर्को पक्षले सडकमा उत्रिएर संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका थिए । जसपा नेपाल विभाजित भएर लोसपा बनेपछि भने यो पटक जसपाले संविधान दिवसमा मौन रहने र लोसपाले विरोधका कार्यक्रम गर्ने तयारी गरेका हुन् ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको अवसर पारेर प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेस केन्द्रित दलले यो दिनलाई ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् ।

तत्कालीन मधेसवादी दलको विरोधका बाबजुद संविधान जारी भएको थियो । संविधान जारी गर्दा उनीहरु संविधानसभामा सहभागीसमेत भएनन् । उनीहरूको सहभागिता बिना नै संविधानसभाको बहुमतले संविधान जारी गरिएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनका रुपमा मनाउन मातहतका कमिटीमा सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउट लगायत विरोधका कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

अध्यक्ष ठाकुरको सर्कुलरअनुसार नै विरोधका कार्यक्रम हुने लोसपाका नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमै मनाएको बताउँदै उनले संविधान संशोधन लगायतका मुद्दा सम्बोधन नभएसम्म संविधान दिवसलाई आफूहरुले कालो दिनकै रुपमा मनाउने बताए ।

‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीले उठाएका मागलाई सम्बोधन गरेर संविधान दिवसको उत्सवमा हामीलाई पनि सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन,’ उनले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म आन्दोलन जारी रहने छ ।’

जसपाले के गर्छ ?

जनता समाजवादी पार्टी नेपाल भने संविधान दिवसका दिन मौन रहने भएको छ । प्रदेश २ सरकारको नेतृत्व गरिरहेको सो दल संघीय सरकारका पक्षमा बनेको गठबन्धनमा आवद्ध छ ।

जसपाकै नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसका अवसरमा प्रदेश सरकारका तर्फबाट अहिलेसम्म औपचारिक कार्यक्रममा सहभागिता जनाएका छैनन् । उनले संविधान दिवसको विरोध पनि गरेका छैनन् ।

मुख्यमन्त्री राउतले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको र संविधान संशोधनका लागि संघर्ष जारी रहेको बताए । संविधानप्रति असन्तुष्टि रहेकै कारण आफूहरू संविधान दिवसका अवसरमा प्रदेश सरकारस्तरमा औपचारिक कार्यक्रममा सहभागी हुन नसक्ने उनको भनाइ छ । यद्यपि, मुख्यमन्त्री राउत नेतृत्वकै मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनलाई उत्सवको रुपमा मनाउने भन्दै विविध निर्णय गरेको छ ।

यसवर्ष पनि संविधान दिवसका दिन आफूहरु मौन बस्ने प्रदेशका कृषि तथा सहकारी मन्त्री विजय यादवले बताए । जसपाका प्रदेश अध्यक्षसमेत रहेका मन्त्री यादवले भने, ‘विगतमा जसरी संविधान दिवसको दिन मौन बस्थ्यौँ, त्यसैगरी यस वर्ष पनि मौन बस्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप