बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प छैन : योगेश भट्टराई

विभाजनले पार्टीलाई ५ प्रतिशत क्षति भएको दावी
शुक्रबार, ०१ असोज २०७८, ११ : ३१
शुक्रबार, ०१ असोज २०७८

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाएका छन् । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उनको टिप्पणी छ।  

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो चाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको बताए । 

नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झँदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दावी गरे । 

उनले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एसिसिबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गरे ।

नेता भट्टराईले पार्टी विभाजन दुःखद् भएको बताउँदै विभाजनले एमाले पार्टीलाई पाँच प्रतिशतमात्र क्षति पु¥याएको दावी गरे । पार्टी विभाजनको असर केन्द्रीय नेतृत्वमा केही बढी देखिएपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गरे ।

 उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गरे ।

नेता भट्टराईले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै त्यसलाई एमालेले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐनप्रति लक्षित गर्दै नेता भट्टराईले प्रेसमाथि लगाइने कुनैपनि अंकुश एमालेका लागि मान्य नहुने बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप