शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो हुनेछ नेकपा एकीकृत समाजवादी पार्टी, माधवकुमार नेपालले सुनाए योजना

‘चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल’
शुक्रबार, ०१ असोज २०७८, २१ : ००
शुक्रबार, ०१ असोज २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।

‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ ।’

उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए । समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ थियो ।

​लोकतान्त्रिक चरित्र र संस्कारलाई अवलम्बन गर्दै समाजवादतर्फको यात्रामा आफूहरु निरन्तर अघि बढ्ने उनले सुनाए । सामाजिक न्याय, समानता र समृद्धिका लागि अघि बढ्दै विभिन्न आन्दोलनका उपलब्धिको रक्षाका खातिर पार्टीलाई उभ्याउने उनले प्रस्ट पारे ।

मार्क्सवाद, लेनिनवादमा निष्ठा र आस्था राख्दै जबजको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेकपा एकीकृत समाजवादी पार्टीलाई सबैखालका दक्षिणपन्थी भासबाट जोगाउन क्रियाशील हुने उनले बताए । अहिले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा विभिन्न विकृति र विसंगति रहेको भन्दै उनले समाज, राजनीति र पार्टीहरूमा भएका सबै खालका विकृति, विसंगति उन्मुलनका लागि दृढताका साथ जुट्ने पनि उनले बताए ।

पार्टीलाई देशभक्त र स्वाभिमानी शक्तिका रुपमा उभ्याउने दृढता प्रकट गर्दै उनले सर्वहारा वर्गको क्रान्तिकारी पार्टीका रुपमा गतिशील बनाउँदै अघि बढ्ने बताए । ‘यो पार्टी कुनै पद प्राप्ति, निजी स्वार्थको रक्षाका लागि होइन । निजी अहङ्कारबाट प्रेरित भएर अहंकार गर्न पनि होइन,’ उनले भने, ‘हामी देश, जनता र समाजप्रति समर्पित हुन्छौं । शान्ति, मानवअधिकारको पक्षमा हुनेछौं ।’

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजी विकास गर्ने लक्ष्य रहेको उनले बताए । नेपाली नमुनाको समाजवाद कस्तो हुनेछ भन्नेबारे बौद्धिक जगतको सुझाव लिइने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप