शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदको गतिरोध हटाउन ओली मनाउने देउवाको प्रयास

शुक्रबार, ०१ असोज २०७८, ०८ : ४०
शुक्रबार, ०१ असोज २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई  उन निवास बालकोट पठाएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए । संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले  आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका छन् ।


संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेको देखिन्छ । बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानकारी दिए । 

त्यसका लागि मन्त्री कार्कीले ओलीलाई संसद अवरोध नगरिदिन आग्रह गरेका थिए । एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमाले संसद् अवरोध गरिरहेको छ ।

संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ । संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ ।

यस्तै ओली सरकारले ल्याएका १५ अध्यादेशमध्ये १२ अध्यादेश निष्क्रिय भएका छन् ।  निष्क्रिय भएका दुई अध्यादेशका  व्यवस्थालाई  निरन्तरता  दिन  सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ  । 

बुधबार  मध्यरातबाट  निष्क्रिय  भएका  फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही  नेपाल  ऐन  संशोधन  अध्यादेश  र  यौन  हिंसाविरुद्ध  केही  नेपाल  ऐन  संशोधन  अध्यादेशकै  व्यवस्था  समेटेर  नयाँ  विधेयक  दर्ता गरिएको हो ।

कानुन न्याय तथा संसदीय मामिला  मन्त्रालयका  तर्फबाट  बिहीबार  विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय  भएका  अध्यादेशकै  विषय  समेटेर नयाँ विधेयक ल्याइएको हो ।  मुख्यत बजेटको प्रतिस्थापन विधेयक पारित गर्न असोज ४ गते सोमबारका लागि संसद बैठक बोलाइएको छ ।

उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने संकेत देखाएपछि देउवाले सहमतिको प्रयासका लागि विश्वासपात्रमार्फत ओलीसँग संवाद बढाउन खोजेको देखिन्छ । यसअघि भदौ १५ गते पनि प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । ओली संवादका लागि  प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कार्कीलाई बालकोट पठाएका थिए । तर एमालेलाई मनाउने प्रयास सफल हुन सकेन ।  भदौ २३ गतेदेखि सुरु भएको संसद बैठकमा एमालेले अवरोध जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप