बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेडपाण्डा संरक्षणका लागि कुकुरलाई रेबिजविरुद्धको खोप

बिहीबार, ३१ भदौ २०७८, २१ : ४५
बिहीबार, ३१ भदौ २०७८

रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । 

यही भदौ १४ देखि २४ गतेसम्म आफ्नो कार्य क्षेत्रका ४१४ वटा कुकुर र ३१ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष १७२ वटा कुकुरलाई खोप लगाइएको थियो ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र स्थानीय तहका पशु शाखाको प्राविधिक सहयोगमा खोप कार्यक्रम आयोजना गरिएको राईले बताए । मान्छे, घर पालुवा जनावर र संरक्षित वन्यजन्तु रेडपाण्डा कुकुरको आक्रमणमा पर्ने गरेकाले रेबिजबाट बचाउन खोप कार्यक्रम सञ्चालन गरिएको हो । खोपसँगै जुकाको औषधि र भिटामिनसमेत वितरण गरिएको छ । अघिल्लो वर्ष पाथीभरा क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो वर्ष सिरिजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन, पाथीभरा याङ्वरकको तिरिङ्गे, थेचम्बु, फुङ्लिङ नगरपालिकाको फावाखोला फुरुम्बुसहित पाथीभरा क्षेत्रमा रहेका घरपालुवा र सामुदायिक कुकुरलाई खोप लगाइएको मञ्चले जनाएको छ । पछिल्लो समय रेडपाण्डा संरक्षण क्षेत्रका कुकुरमा रोग देखिन थालेकाले खोप कार्यक्रमलाई निरन्तरता दिँदै लगिने राईको भनाइ छ ।

यस्तै रेडपाण्डा संरक्षणकै लागि अघिल्लो वर्ष ८२ वटा कुकुरलाई बन्ध्याकरणसमेत गरिएको छ । धेरैजसो पाथीभरा क्षेत्रका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिएको छ । बन्ध्याकरण गरेपछि आक्रामक नहुने र सङ्ख्यासमेत वृद्धि नहुने भएकाले बन्ध्याकरण गर्नुपरेको बताइएको छ । जिल्लामा हालसम्म पाथीभरा क्षेत्र र देउरालीमा गरी दुई वटा रेडपाण्डा कुकुरको आक्रमणमा परी मरेका थिए ।

कुकुरको आक्रमणमा परी घाइते अवस्थामा भेटिएका ती रेडपाण्डा उपचारका क्रममा मरेको जनाइएको छ । विशेषगरी जिल्लाको पाथीभरा क्षेत्रमा रेडपाण्डाको सङ्ख्या बढिरहेको अनुमान छ । सो क्षेत्रमा भने बर्सेनि सामुदायिक कुकुरको सङ्ख्या वृद्धि भइरहेकाले संरक्षणमा चुनौती बढेको छ ।

नेपालका सम्भावित रेडपाण्डाको बासस्थान र सङ्ख्याका आधारमा ताप्लेजुङलाई रेडपाण्डाको प्रमुख क्षेत्रका रूपमा लिन सकिन्छ । अघिल्लो वर्ष तयार भएको समुदायमा आधारित हाब्रे सर्वेक्षण तथा अनुगमनको कार्यविधिमा उल्लेख भएअनुसार यहाँ हाब्रे अर्थात् रेडपाण्डाको सङ्ख्या ४५ रहेको छ ।

साधारणतया रेडपाण्डाले आफ्नो बासस्थान धोद्रो रुखमा वा चट्टानको खोँचमा बनाउने गर्छ । कुकुरको आक्रमणसहित वन डढेलो, चोरी सिकार, हाब्रेको मुख्य आहारा मालिङ्गो÷निगालो प्रजातिको दोहन, बासस्थान क्षेत्रमा घाँस, दाउरा सङ्कलन, सडक संरचनासहित ठूलाठूला भौतिक पूर्वाधारको निर्माण हुने जस्ता कार्यले रेडपाण्डाको संरक्षणमा चुनौती थपिँदै गएको संरक्षणकर्मी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप