शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तराई-सडक परियोजनाबारे नेपाल–भारतबीच छलफल

बिहीबार, ३१ भदौ २०७८, २१ : १०
बिहीबार, ३१ भदौ २०७८

नेपाल–भारतद्वारा गठित संयुक्त परियोजना अनुगमन समितिको चौथो भर्चुअल बैठकले सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाबारे छलफल गरेको छ । बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

१४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकाले बैठकले परियोजनाले हासिल गरेको उपलब्धिप्रति सन्तुष्ट व्यक्त गरेको छ । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्य अन्तिम चरणमा रहेको बताएको छ । नेपालको तराई क्षेत्रमा कूल ३०६ किलोमिटर लम्बाइ रहेको १० वटा सडकहरू (१४ वटा प्याकेज÷ठेक्कामा विभाजित) को निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

यी सडकहरूले पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मद्दत गर्नेछ । २०७७ चैत्र १८ गतेका दिन तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक नेपाली जनतालाई हस्तान्तरण गरिएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा सो बैठक आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप