शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा कोरोना संक्रमण विरुद्धको खोप बिक्री गर्ने मेडिकल सञ्चालक पक्राउ

बिहीबार, ३१ भदौ २०७८, १६ : १६
बिहीबार, ३१ भदौ २०७८

सरकारले निःशुल्क रुपमा सर्वसाधारणलाई दिँदै आएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन (खोप) धनुषामा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहामा रहेको श्रीराम मेडिकलबाट बेच्नका लागि राखिएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन ६ थान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो मेडिकलबाट भेरोसेल ४ थान, जोन्सन एन्ड जोन्सन १ थान र एस्ट्राजेनेका १ थान गरी ६ थान कोरोना संक्रमण विरुद्धको भ्याक्सिन फेला परेको छ ।

विशेष सूचनाका आधारमा नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा ती भ्याक्सिन फेला परेको नगर प्रमुख उदय बरबरियाले जानकारी दिए । औषधि पसलमा भ्याक्सिन फेला परेपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले मेडिकल सञ्चालक कमलेश मण्डललाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

नगरपालिका र प्रहरीले संयुक्तरुपमा सो पसलमा छापा मार्दा ६ थान विभिन्न भ्याक्सिन फेला परेकाले मेडिकल सञ्चालक मण्डललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको नगरप्रमुख बरबरियाले बताए । ती भ्याक्सिन २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म लिएर वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई बेच्दै आएको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले कोरोना संक्रमण विरुद्धको खोप बिक्री वितरण गरिरहेको आरोपमा मेडिकल सञ्चालक मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप