शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडबाड नजिकिँदै गर्दा वीरेन्द्रनगरमा नक्कली नोटको बिगबिगी

बिहीबार, ३१ भदौ २०७८, १६ : १३
बिहीबार, ३१ भदौ २०७८

वीरेन्द्रनगरको भैरवस्थान नजिकै रहेको चन्द्रमान चोककी दिलमाया सोडारी बुधबार बेलुका ९ बजेसम्म पसलमै थिइन् । बेलुकी पख तरकारी, फलफूल र मासु किन्न आउनेहरु नरोकिएपछि उनी अबेरसम्म उनी पसलमै थिइन् ।

झण्डै ८ बजेको समयमा एउटा मोटरसाइकलमा दुईजना आए । पसलभन्दा अलि पर मोटरसाइकल राखेर उनीहरु दिलमायाको पसलमा आएर फलफूल, तरकारी लगायतका सामग्री अर्डर गरे । दिलमायाले पनि ती सामग्री पोलथिनमा प्याक गरेर दिइन् ।

उनीहरुले दिलमायालाई एक हजारको नयाँ नोट दिए । अलि अँध्यारो समय थियो । सामग्रीको मूल्य कटाएर बाँकी रकम उनले फिर्ता गरिन् । ती दुई जना पैसा लिनासाथ हतार–हतार गरेर मोटरसाइकल चढेर हुँइकिए ।

दिलमायाले त्यो बेला नोटको बारेमा त्यति वास्ता गरिनन् । अँध्यारो समय भएकाले पैसा राखिहालिन् । त्यसपछि उनको पसलमा हजार बराबरको नोट दिएर सामान किन्ने व्यक्ति अन्य कोही आएनन् ।

सोही नोटसहित पाँच हजार रकम बोकेर बिहीबार बिहान उनी मण्डी पुगिन् । उनले पाँच हजार बराबरको तरकारी बस्तु खरिद गरिन् र साहुलाई रकम दिइन् । मण्डी साहुले पैसा गन्दा एउटा नोट नक्कली भेटियो । ‘नक्कली नोट दिएर हामीलाई ठग्न खोजेको ?’ भन्दै साहुजी कड्किएपछि उनी छक्क परिन् ।  

वीरेन्द्रनगर–१ बाँङ्गेसिलका दीलिप शाही केही दिन अघि बजारमा सपिङ गर्न गए । बजारबाट केही सामान खरिद गरी उनी बेलुका घर फर्किए । घर गएर उनले आफूसँग भएको रकम गन्दा एक हजारको नक्कली नोट भेटियो । उनले त्यो नोट कोमार्फत आफूसँग आयो भन्ने पत्तो पाएनन् । 

उनीहरु दुईजना प्रतिनिधिपात्र मात्रै हुन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हिजो–आज नक्कली नोटको बिगबिगी नै छ । दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा कारोबारीहरुले नक्कदी नोट बजारमा ल्याएको हुन सक्ने व्यापारीहरुको अनुमान छ । कतिपयले एक बैंकबाट लिएको गड्डीलाई अर्को बैंकमा जम्मा गर्दा यस्तो फेला परेको गुनासो पनि गरिरहेका छन् । 

दिलीप र दिलमायाले रातोपाटीलाई उपलब्ध गराएको नोटलाई उज्यालो प्रकाशमा हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट चेक गर्दा नोटमा लालीगुराँसको आकृति देखिँदैन । सक्कली नोटमा भने लालीगुराँसको चित्र देख्न सकिन्छ ।

यता, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले नक्कली नोटको बारेमा जानकारी आएकाले अनुसन्धान गरिरहेको रातोपाटीलाई बताए ।

‘नोट कहाँबाट र कसरी आयो भन्ने बारेमा हामीले गहिरो अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप