शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व उठ्यो

बिहीबार, ३१ भदौ २०७८, १६ : ०२
बिहीबार, ३१ भदौ २०७८

कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले लक्ष्यभन्दा आठ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भित्र कोरोना महामारीका कारण यो कार्यालयले लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ८४ करोड १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ ।

गत आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले भन्सार महसुल चार अर्ब ८० करोड १५ लाख ५४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा पाँच अर्ब ४८ करोड ७६ लाख १४ हजार रुपैयाँ संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै, मूल्य अभिबृद्धि कर (भ्याट) तीन अर्ब सात करोड १९ लाख ५८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १२ करोड चार लाख ७३ हजार रुपैयाँ र अन्तःशुल्क ३४ करोड ३८ लाख ५९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा २३ करोड ३३ लाख ४१ हजार रुपैयाँ असुल भएको छ ।

गत आर्थिक वर्ष कैलाली भन्सार कार्यालयमा अन्तःशुल्क भने लक्ष्यभन्दा १० करोड रुपैयाँ कम असुल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्सार कार्यालयले लक्ष्यभन्दा एक अर्ब ७८ करोड २१ लाख ६१ हजार रुपैयाँ कम संकलन गरेको थियो । सो आर्थिक वर्षमा ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरेकोमा चार अर्ब ९२ करोड १० लाख पाँच हजार रुपैयाँ मात्रै संकलन भएको थियो । सो वर्ष कोरोना महामारीको पहिलो लहर फैलिएको र कडा लकडाउन गरिएकाले आयात पनि घटेको हुँदा राजस्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । यसवर्ष बैशाख महिनादेखि कोरोना महामारीको दोस्रो लहर चलेपछि लकडाउन गरिएपनि आयात–निर्यात नरोकिएकोले राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा पनि भन्सार कार्यालय कैलालीले राजस्व असुल गर्ने लक्ष्य पूरा गर्न सकेको थिएन । तथ्यांकअनुसार सो आर्थिक वर्षमा पाँच अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब १९ करोड ७५ लाख १९ हजार रुपैयाँ मात्रै संकलन भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा पनि लक्ष्यभन्दा आठ प्रतिशत बढि राजस्व संकलन गरेको थियो । तीन अर्ब ८७ करोड ९९ लाख ५१ हजार संकलन गर्ने लक्ष्य निर्धारण भएकोमा चार अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तथ्यांक हेर्दा जिल्ला भन्सार कार्यालय कैलाली चार वर्षपछि राजस्व संकलनको लयमा फर्किएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप