शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय मिडियाले भन्यो, ‘भौंतारिँदै नेपाल पुगेका दुई भारतीयलाई १२ वर्षसम्म खाना मात्रै खुवाइएन उपचार पनि गराइयो’

बिहीबार, ३१ भदौ २०७८, १३ : ५६
बिहीबार, ३१ भदौ २०७८

भारतको झारखण्ड र उत्तर प्रदेशका दुई महिला हराइरहेका थिए । एकजना सन् २००९ देखि गायब थिइन् भने अर्की २०१३ देखि । दुबै भड्किँदै नेपाल आइपुगेका थिए । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उनीहरुलाई काठमाडौंको आश्रममा लगियो । आश्रमले १२ वर्षसम्म खाना–पानी मात्रै दिएनन् उनीहरुको मानसिक स्थितिको उपचार पनि गराए ।

स्रोतका अनुसार जब मानसिक रुपमा उनीहरु निको भए तब आफ्नो घरसँग सम्बन्धित केही जानकारी साझा गर्न सके । त्यसपछि दूतावासबाट सुरु भएको प्रक्रिया हरियाणा क्राइम ब्रान्चको एक असिस्टेन्ट सब इन्सपेक्टरसम्म पुग्यो र ४ सेप्टेम्बरमा यी दुई महिला आफनो घर फर्किए । दुबैका परिवार र यो मामिलामा महत्वपूर्ण भूमिका निभाउने सब इन्स्पेक्टरले यसबारे विस्तृत जानकारी दिएका छन् ।

सबैभन्दा पहिलो कहानी सुनिताको हो जो बरेली जिल्लाको रधौली गाउँमा बस्छिन् । उनका छोरा आछूले दिएको जानकारी जस्ताको तस्तैः

मेरी आमा सुनिता देवी ६० वर्षकी भइन् । मानसिक स्थिति ठिक नभएका कारण उनी धेरैजसो यताउता हिँडिरहन्थिन् तर वरिपरिका मानिसहरुले सूचना दिन्थे र हामी उनलाई घर फिर्ता ल्याउन सफल हुन्थ्यौं ।

एकपटक गाउँबाट पैदल हिँडेर बरेली पुगेकी थिइन् । त्यहाँबाट पनि हामीले खोजेर ल्यायौं तर सन् २०१३ मा थाहा छैन कसरी नेपाल पुगिन् । त्यतिबेला हामीले उनलाई खोज्ने असाध्यै कोसिस गर्यौं तर उनी भेटिइनन् । उनलाई भेट्ने आशा नै मारिसकेका थियौं ।

यस वर्ष २१ मेमा अचानक मलाई हरियाणा क्राइम ब्रान्चबाट फोन आयो । कुरा गर्ने मानिसहरुले आफ्नो नाम असिस्टेन्ट सब इन्सपेक्टर राजेश कुमार बताए । भने, ‘तपाईंकी आमा काठमाडौंका एक आश्रममा भेटिइन् । ’ उनीहरुले हाम्रो आधार कार्ड र अन्य कागजपत्र मागे । भिडियो कलमा आमासँग कुरा गर्दा हामीले चिन्यौं कि उनी हाम्रै आमा हुन् ।

३ सेप्टेम्बरमा उनीहरुलाई विमानमार्फत् काठमाडौंबाट दिल्ली ल्याइयो । राजेशजीले हामीलाई ‘तपाईंकी आमालाई लिन दिल्ली आउनुपर्ने भयो’ भनेपछि मैले भनेँ, ‘म त कहिल्यै दिल्ली आएको छैन । पैसा पनि छैन । ’ त्यसपछि उनले भने, ‘चिन्ता नगर तपाईंसँग कोही प्रहरी अधिकारी हुनेछन् ।’ त्यसपछि हाम्रा थानाकै एक प्रहरीसँग म दिल्ली गएँ र आफ्नी आमालाई गाउँ लिएर आएँ ।

आमाले ‘प्रहरीले उनलाई आश्रममा लिएर गएको र त्यहाँ उनको उपचार पनि भएको ’ बताइन् । जब उनलाई केही कुरा याद आयो तब उनले आश्रमलाई त्यसबारे जानकारी दिएको र उनीहरुले  खोजतलासी सुरु गर्दा हामीसम्म आइपुगे । नेपालमा सुनिताको नाम लिलावती राखिएको थियो । जब उनलाई आफ्नो वास्तविक नाम याद आयो तब उनले यसको जानकारी आश्रमका मानिसहरुलाई दिइन् ।

दोस्रो कहानी झारखण्डको लोहरदगा जिल्लामा बस्ने एतबरियाको हो, उनका भिनाजु विजयका अनुसार...

सुनिताझैं झारखण्डको लोहरदगा जिल्लाको मसमोना गाउँको एतबरिया उराव पनि पछिल्लो १२ वर्षदेखि हराइरहेकी थिइन् । एतबरिया ३२ वर्षकी हुन् । अहिलेसम्म उनको विवाह भएको छैन ।

उनका भिनाजु विजयका अनुसार एतबरिया मानसिक रुपमा थोरै कमजोर छिन् । उनी १२ वर्षअघि आफ्ना पितासँग इट्टा भट्टीमा मजदुरी गर्न गएकी थिइन् । त्यहाँबाट उनी हराएकी थिइन् । उनी कसरी नेपाल पुगिन्, यो अहिलेसम्म थाहा हुन सकेको छैन ।

कसैले उनलाई नेपाल छोडिदिएको भनेर अहिले उनी बताउँछिन् । नेपालका प्रहरीले उनलाई काठमाडौंको मंगला साहना आश्रममा लिएर गए । हामीलाई पनि हरियाणा क्राइम ब्रान्चका सब इन्स्पेक्टर राजेश सिंहको फोन आएको थियो । उनले डकुमेन्ट भेरिफाई गरेपछि र पहिचान प्रमाणि भएपछि एतबरियालाई हामीलाई सुम्पिए । हामीले उनलाई घर लिएर आयौं ।

१२ वर्षपछि जब उनी गाउँ आइन् तब उनलाई हेर्न त्यहाँ भीड लाग्यो । हामीलाई अहिले पनि विश्वास भइरहेको छैन कि उनी फिर्ता आएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप