शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईनर्जी फुड प्रालिबाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद

बुधबार, ३० भदौ २०७८, २० : ५८
बुधबार, ३० भदौ २०७८


भरतपुर महानगरले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेतृत्वमा बजार अनुगमन सुरु भएको हो । उपभोक्ताबाट पनि गुनासाहरू आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाडि बढाइएको अनुगमन समिति संयोजक सापकोटाले बताए ।

सापकोटाको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुर महानगर १० दीपेन्द्र चोकमा समिघ श्रेष्ठले सञ्चालन गरेको  ईनर्जी फुड प्रालिमा प्याकिङ गरिएको ठुलो मात्रामा मासु तथा मासुजन्य उत्पादन बरामद गरेको हो ।  

५र ६ महिना अगाडी नै म्याद सकिएका प्याकिङ गरिएको बफ मम, इस्प्रिङ रोल, चकलेट मम, प्राउन, कुखुराको मासु लगायतका  मासुका उत्पादन फेला पारेर नष्ट गरेको थियो ।  सो पसलबाट धेरै मात्रामा म्याद सकिएको मासुका उत्पादन  बरामद गरि नष्ट गरिएको महानगरका अनुगमन समितिका संयोजक सापकोटाले बताए ।

उसलाई कसुरका आधारमा थप कारबाही हुने सापकोटा बताउँछन् । त्यस्तै टोलीले लम्साल किराना स्टोर्समा लेवल नभएको स्वस्तिक ब्राण्डको चामल बिक्री गरेको भेटिएको र उसलाई पनि कानुनी दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । टोलीले  नेपाल मिट को पनि अनुगमन गरेको थियो भने अन्य केही होटल र पसलहरुको पनि अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्न र सावधानी सहित व्यापार गर्न निर्देशन दिएको हो ।

अनुगमनमा उद्योग वाणिज्य संघका तर्फबाट चेत नारायण सापकोटा, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देल, उपभोक्ता अधिकार संरक्षण मञ्चबाट उपाध्यक्ष विष्णु भुसाल, नगर प्रहरी प्रमुख मेघराज भट्टराई, नगर प्रहरी असई कृष्ण प्रसाद सापकोटा ,राजश्व शाखा अधिकृत रोजी केसी, नगर प्रहरी लगायत को सहभागिता रहेको थियो ।

अव बजार अनुगमन लाई निरन्तर अगाडि बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप