बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सूर्य उदाएपछि गठबन्धनको कुहिरो हराएर जान्छ : प्रदीपकुमार ज्ञवाली

बुधबार, ३० भदौ २०७८, २० : ३१
बुधबार, ३० भदौ २०७८


नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेमाथि गठबन्धनको घेराबन्दी अस्थायी रहेको भन्दै चाँडै यसको अन्त्य हुने बताएका छन् ।

बुधबार गृहजिल्ला गुल्मीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने बताए ।

सदरमुकाम तम्घासमा आयोजित भेलामा ज्ञवालीले माधव नेपालले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीविरुद्ध घेराबन्दी गरेको आरोप  लगाए । नेकपा एमालेले देशलाई एक ढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल पार्ने प्रयास गरेको उनको भनाइ थियो ।

एमाले अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको दाबी गर्दै उनले कार्यकर्ताहरुलाई एक ढिक्का भएर पार्टीको काममा लाग्न निर्देशन दिए ।

उनले एमालेलाई घृणा गर्नेहरुको मष्तिष्क तथा माया गर्नेहरुको मुटुमा एमाले रहेको भन्दै कार्यकर्ताहरुलाई हौस्याएका थिए ।

भेलामा एमालेका अर्का सचिव तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले माधव नेपालहरुले राष्ट्रपतिकहाँ आफ्नो हस्ताक्षर दुरुपयोग गरेको बताएका छन् । ‘मेरो हस्ताक्षर दुरुपयोग भएकाले नै म विपक्षीहरुसँग अदालत नगएको हो,’ उनले भने ।

बिष्टले माधव नेपालले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेर पार्टी फुटाउनु गलत भएको जिकिर गरे । १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनको भनाइ थियो ।

‘पार्टी एकताबाहेक विकल्प छैन, वैचारिक द्वन्द्व र बहसहरु पार्टीभित्र हुन्छन्,’ उनले भने, ‘त्यसको समाधान पार्टीभित्रै खोजौंभन्दा पनि उहाँले (माधव नेपालले) नमान्दा पार्टी विभाजन हुन गएको हो ।’

कार्यक्रममा प्रदेश सांसद कमलराज श्रेष्ठ, केन्द्रीय सदस्य दिनेश पन्थी, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप