आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु

बुधबार, ३० भदौ २०७८, ०८ : ००
बुधबार, ३० भदौ २०७८

नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीको पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो ।  महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पुर्याए  समृद्ध समाज निर्माण गर्न सकिने बताए ।
“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली कांग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,”– उनले भने । (नेकपा एमाले) का नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताए ।

“बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,”–उनले भने । लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा.सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली कांग्रेस बीपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताए । 

“बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ,”–उनले भने, “नेपाली कांग्रेस बीपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्छ ।”

नेपाली कांग्रेस बीपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाउनुभएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताए । “राष्ट्रियताको रक्षा, प्रजातान्त्रिक हकअधिकार र आर्थिक विकासका लागि नेपाली कांग्रेस बीपीले आगामी दिन आफ्नो कार्यदिशा तय गर्नेछ,”– उनले भने ।

नेपाली कांग्रेस बीपीका उपसभापति झलकनाथ वाग्ले, महामन्त्रीद्वय सुशीलमान शेरचन र पुष्प पराजुली, कार्यालय सचिव सुशील वाग्लेलगायतले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरुपमा आत्मासाथ गर्दै नेपाली कांग्रेस बिपी अगाडि बढ्ने बताएका थिए ।

तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप