बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

बुधबार, ३० भदौ २०७८, १३ : ५७
बुधबार, ३० भदौ २०७८

यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । 

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीसँग बताए । 

‘दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन । सम्भवत अबको एक दुई दिनभित्रै यसको निर्णय हुन्छ र हामी टिकट बुकिङ खुल्ला गर्छौ’ कँडेलले भने । 

त्यसो त भदौ अन्तसम्म पनि वर्षात् नरोकिएका कारण स्थल मार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ ठाउँमा अवरोध आउँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा परेको र अहिले नै सर्वसाधारण यात्रुहरूलाई नियमित उडानकै लागि टिकट पाउन मुस्किल परिरहेको कँडेलको भनाई छ । 

यस्तो समस्या ठूला जहाज चल्ने रुटमा परिरहेको कँडेलको भनाई छ । काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको उनले बताए । जसले गर्दा यस पटकको दसैँ तिहारमा समेत हवाई यात्रुहरूको उच्च चाप पर्ने देखिएको उनको भनाई छ । 

साथै, ट्रङ्क रुट (साना, न्यारो बडी जहाज जाने) कर्णाली, लुक्ला, सिमिकोट, रामेछाप लगायतका क्षेत्रमा जाने जहाजमा पनि यस्तै चाप पर्ने देखिएको कँडेलले बताए ।

हाल डोमेष्टिक (आन्तरिक) उडान तर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप