शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटी बैठकको तयारी, प्रतिवेदन लेख्दै एकीकृत समाजवादीका नेता

बुधबार, ३० भदौ २०७८, २२ : ०८
बुधबार, ३० भदौ २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गतेलाई बोलाइएको छ ।

पार्टी गठनपछि पहिलो बैठक बस्न लागेकाले आन्तरिक तयारीका लागि नेताहरु विभिन्न प्रतिवेदन र प्रस्तावहरू तयार पार्न जुटेका हुन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदन तयार गर्न लागेका छन् सांगठनिक प्रतिवेदन सचिवालयका संयोजक डा. बेदुराम भुसालले तयार गरिरहेका छन् । त्यस्तै विधान प्रतिवेदन राजेन्द्र पाण्डे लगायतका नेताहरुले तयार गरिरहेको बताइएको छ ।

‘केन्द्रीय कमिटीको पहिलो बैठकको आन्तरिक तयारीस्वरुप विभिन्न प्रतिवेदन तयार पार्ने काम भइरहेको छ, त्यसमा नेताहरु लागिरहनुभएको छ’, प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘राजनीतिक, सांगठानिक र विधान प्रतिवेदनसहित केही महत्वपुर्ण प्रस्ताव तयार गरेर स्थायी कमिटीले पारित गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश हुनेछन् ।’

सो पार्टीका नेताहरुका अनुसार प्रतिवेदन लेखनमा सहजीकरणको काम केन्द्रीय सचिवालयका सदस्यहरुले गरिरहेका छन् ।   

नेताहरुका अनुसार सो पार्टीले तयार गरिरहेको राजनीतिक प्रतिवेदन समाजवादमा पुग्ने लक्ष्यसहितको कार्यदिशा समेटिएको हुनेछ । ‘प्रगतिशिल बहुदलीय समाजवाद, जनसमाजवाद या समाजवाद मात्रै पनि हुनसक्छ, शब्द नै फाइनल भएको छैन तर ति मध्ये कुनै एक शब्द रहनसक्छ’, सो पार्टीका एक स्थायी समिति सदस्यले भने, ‘पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हो ।’

समाजमा रहेका सबैखाले शोषण उत्पीडन र विभेदहरूको अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिन्छ भन्ने विश्वास उक्त पार्टीले आफ्नो अन्तरिम विधानमै उल्लेख गरेको छ । ‘क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संघर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य ममान्यतासहितको समाजवादका आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो’, एकीकृत समाजवादीले विधानमा भनेको छ, ‘दलाल नोकरशाही पूँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माणको अभियान सञ्चालन गर्नु र सामन्तवादको अवशेषका रूपमा रहेका कुरीति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति सामाजिक–साँस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्नु यस पार्टीका तात्कालिक मुख्य कार्यभार हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप