शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका सिनेमा हल असोजबाट खुल्ने

बुधबार, ३० भदौ २०७८, १० : ०४
बुधबार, ३० भदौ २०७८

लामो समयदेखि बन्द रहेका मकवानपुरका मनोरञ्जनका क्षेत्र सञ्चालनमा आउने भएका छन् । कोरोना महामारी सुरु भएदेखि नै बन्द भएका मकवानपुरका सिनेमा हल, पार्क, पिकनिक स्थल दोहोरी साँझ जस्ता मनोरञ्जनका क्षेत्रहरू खुल्ने भएका हुन् । 

कोरोना सङ्क्रमणको जोखिमका कारण मकवानपुरका २ वटा सिनेमा हल, थुप्रै पिकनिक स्थलहरू र दोहोरी साँझ लगायतका मनोरञ्जनका क्षेत्र पूर्ण रूपमा बन्द भएका थिए ।

कोरोनाका कारण अस्तव्यस्त बनेको मनोरञ्जनका क्षेत्र बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आगामी असोज १ गतेबाट बन्द रहेका हल, दोहोरी साँझ, पिकनिकस्थल खोल्ने निर्णय गरेसँगै केही राहत पुग्ने देखिएको छ । 

मनोरञ्जनका ती क्षेत्रहरू खुल्ला गर्न अनुमति दिएको भए पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड भने अपनाउनु पर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

कोरोना सङ्क्रमणको दर केही कम भएको भए पनि जोखिम कायम नै रहेकाले सिनेमा हल तथा दोहोरी साँझहरूको हकमा सम्बन्धित सञ्चालकले आवश्यक पूर्व तयारीका विधि एवम् स्वास्थ्य सुरक्षाको मापदण्डको प्रतिवेदन बनाएर पेस गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले निर्देशन दिएका छन् ।

उक्त प्रतिवेदन अध्ययन पश्चात् आवश्यक सुधारका सुझाव सहित प्रशासनले सञ्चालनको अनुमति दिने उनले बताए । 

ती मनोरञ्जनका क्षेत्र वा व्यवसायहरूले सरकारले तोकेका मापदण्ड उलङ्घन गरे प्रतिवेदनमा उल्लेख भए विपरीतको कार्य गरेमा आवश्यक कानुनी कारबाही समेत गरिने उनले बताए । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले नियमित रूपमा २४ सै घण्टा स्वास्थ्य मापदण्ड पालना गरी सबै प्रकारका व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । 

यसअघि प्रशासन कार्यालयले बजार तथा व्यवसायहरू सञ्चालनका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको समय सीमा तोकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप