मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि कक्षा १२ को परीक्षा शुरू

बुधबार, ३० भदौ २०७८, ०७ : १९
बुधबार, ३० भदौ २०७८

राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू गर्दै छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । 

परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । अर्यालले ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको बताए ।

परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको सदस्य–सचिव अर्यालले बताए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए । 

उनका अनुसार बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ । कोभिड–१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको पौडेलको भनाइ छ । नियमित परीक्षा सकेलगत्तै अर्को सूचना जारी गरी एकपटकका लागि परीक्षा दिने व्यवस्था गरेको पौडेलले बताए ।

यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ । आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिए। यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप