शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँको मुखमा चिनीको मूल्य बढाउन चलखेल

आयात अनुमति माग्दै पठाइएको दुई प्रस्ताव अर्थ मन्त्रालयबाट गायब
बुधबार, ३० भदौ २०७८, ०६ : ०६
बुधबार, ३० भदौ २०७८

चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । कर्पोरेशनले ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागे पनि अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।

उक्त परिमाणको चिनीले बजारको माग धान्न नसक्ने भएपछि साल्ट ट्रेडिङले २०७८ सालको वैशाख पहिलो साता थप ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति माग्यो । पाँच महिनाअघि गरेको अनुमति प्रस्ताव अर्थमै हराएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौमा अर्को प्रस्ताव पठाइसकेको छ । मन्त्रालयले भदौ ८ गते ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति माग्दै अर्थलाई पत्र लेखेको थियो ।

उद्योग मन्त्रालयको स्रोतले भन्यो, ‘हामीले वैशाखमै चिनी आयातको अनुमति मागेका हौँ । तर, त्यसको कुनै जवाफ नआएपछि यही भदौमा अर्को प्रस्ताव गरेका छौँ ।’ भदौमा गरेको आयात अनुमति प्रस्तावमा ४० हजार मेट्रिक टन चिनी कर्पोरेशन र १० हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने उल्लेख छ ।

‘तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । हामीले पत्राचार गरिरहेका छौँ । पटक–पटक पठाएको अनुमति पत्र रोक्दा अर्थ मन्त्रालयको भूमिका नै शङ्कास्पद लाग्न थालेको छ,’ उनले भने ।

अहिले कति छ चिनी मौज्दात ?

चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् ।

यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।

चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ ।

अर्थ मन्त्रालयले यतिबेला आयातको अनुमति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ ।

मूल्य बढ्ने पक्का

अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् ।

मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् ।

हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ ।

जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप