शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा अर्को साताबाट कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाइने

मङ्गलबार, २९ भदौ २०७८, २० : ४८
मङ्गलबार, २९ भदौ २०७८


बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोनाविरुद्धको तेस्रो अर्थात्  ‘बुस्टर’ डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् ।

कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि उनले बताए । सुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका  १६ देखि ४९ वर्ष उमेरका  तथा अग्रपङ्क्तिमा खटिएर काम गर्ने हेल्थ एन्ड केयर वर्कर्सहरुलाई  उक्त खोप वितरण गरिने अधिकारीहरूले जनाएका छन् ।

यसअघि जुनसुकै खोप लगाइएको भए पनि बूस्टर डोजको रूपमा फाइजरको खोपलाई मुख्य प्राथमिकतामा राखिएको छ । तेस्रो अर्थात् बूस्टर डोजको खोप  लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्नेछ । ५० वर्ष भन्दा कम उमेरका स्वस्थ व्यक्तिलाई भने बूस्टर डोज लगाउने सम्बन्धमा कुनै निर्णय भएको छैन ।

जोइन्ट कमिटी अन भ्याक्सिन एन्ड इम्युनाइजेशन (जेसीभीआइ) ले बुस्टर खोपलाई वितरण गर्ने सल्लाह दिएपछि  बेलायत सरकारले तत्कालै खोप वितरण तयारी थालेको हो ।  आगामी साताबाट सुरु गरिने बुस्टर डोज आउँदो क्रिसमससम्ममा पूरा गर्ने सरकारको लक्ष्य छ । कोरोनाविरुद्धको खोपका साथै फ्लू ज्याब पनि लगाउन सकिने जेसीभीआइ र एमएचआरए ले जनाएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप