बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : असार यता २५ वटा हाइड्रोपावर र ३६ वटा पक्की पुल क्षतिग्रस्त

मङ्गलबार, २९ भदौ २०७८, २० : ३५
मङ्गलबार, २९ भदौ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मनसुनी वर्षासँगै आएको बाढी पहिरोले पु¥याएको क्षतिका बारेमा प्रदेशसभालाई जानकारी गराएका छन् ।

दुई महिना अघि सत्तापक्ष र प्रतिपक्षबीच मनमुटाव बढेपछि स्थगित भएर मंगलबार सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, जलविद्युत् परियोजना, व्यक्तिका घर, गोठ र सरकारी भौतिक संरचनामा बाढी पहिरोले ठूलो क्षति पुगेको बताए ।

उनले गण्डकी प्रदेशमा असार १ यता बाढीपहिरोबाट ३३ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको बताए ।

मुख्यमन्त्री पोखरेलले भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनमार्फत संकलन भइरहेको जानकारी दिए । ‘प्रदेशमा बाढीपहिरोले ५०२ घर, ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रोपावर र ३६ वटा पक्की पुललगायतमा क्षति पुगेको विवतरण आएको छ,’ उनले भने, ‘प्रदेशका विभिन्न जिल्लामा १७६ ठाउँको सडकमा क्षति पुगेका कारण यातायात अवरुद्ध छ ।’

विपद्को समयमा ७३१ घरका ३ हजार ७७० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको उनको भनाइ छ । उनले गण्डकीका एक हजार २०५ घरधुरीका ४ हजार ७६५ जनालाई ७९ लाख ६१ हजार ८९३ रुपैयाँ बराबरको जिन्सी सामान र ४१ लाख ८५ हजार रुपैयाँ नगद गरी १ करोड २१ लाख ४६ हजार ९७३ रुपैयाँ बराबरको राहत वितरण गरिएको जानकारी दिए ।

प्रदेशमा सिंचाई, पशुको पूर्ण खोप, जग्गा चक्लाबन्दी, हरित पार्क, पदमार्ग निर्माण, होमस्टे, पोखरा प्राणी उत्थानजस्ता कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

टेन्डर भइसकेका क्रमागत योजना र एक घर एक धारा लगायतका छुटेका कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धतासमेत उनले जनाए ।

यसैबीच प्रदेशसभा बैठकमा बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७, आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पेस गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले ठेक्का प्रक्रियमा गइसकेका र निर्माणाधीन अवस्थामा रहेका भए पनि वार्षिक कार्यक्रममा समावेश नभएका झोलुङ्गे पुललाई बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले डीपीआर भएका झोलुङ्गे पुल, सडक, पक्कीपुल, खानेपानी, सिंचाइ, भवन लगायतका योजना प्राथमिकीकरण गरी बजेटको व्यवस्था मिलाउने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप