शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मै पहिलो पटक नोबेलले थाल्यो मिर्गौला प्रत्यारोपण सेवा

मङ्गलबार, २९ भदौ २०७८, ११ : ४४
मङ्गलबार, २९ भदौ २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मिर्गौला श्रीमानको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।

 सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरीरमा उनकी श्रीमती ३३ बर्षीया नन्द कुमारीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ,’ डा.शर्माले भने, ‘प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गछौं ।’ अहिले संघीय राजधानीमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

नोबेलका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरिरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो । मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा.दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतीको बायाँ मिर्गौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा.शाहले जानकारी दिए । ‘मिर्गौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ उनले भने ।

 दुई बर्ष अघिदेखि दुवै मिर्गौला ‘फेल’ भएपछि टेकनाथ नियमित डायलाइसिस गराउँदै आएका थिए । मिर्गौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘मिर्गौला प्रत्यारोपण सफल भएपछि उहाँले डायलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने खाइ रहनुपर्छ ।’

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुबै मिर्गौला पूर्ण रुपमा ‘फेल’ भएका विरामीहरुलाई मिर्गौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मिर्गौला बिग्रिएका विरामीहरुलाई सहज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप