बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई पेको क्यूआर कोड सेवा : ‘एप एक क्यूआर अनेक’

मङ्गलबार, २९ भदौ २०७८, ११ : ०७
मङ्गलबार, २९ भदौ २०७८

आजको विश्व सानो मोबाइल सेटभित्र सीमित छ । कुनै पनि कारोबारका लागि मोबाइल बैङ्किङ एक महत्त्वपूर्ण हिस्साको रूपमा उदाएको छ । मोबाइलबाट हुने कारोबार मध्येको सबैभन्दा सरल र सहज कारोबार हो ‘क्यूआर कोड’ मार्फत गरिने कारोबार । 

अहिले बैङ्क तथा वित्तीय संस्थाहरू, मल, हरेक पसल, मार्ट, होटल, रेस्टुरेन्टदेखि साइकल तथा ठेलाबाट फलफूल तरकारी बेच्नेहरूले पनि क्यूआर कोडमार्फत भुक्तानी लिने गरेको देख्न सकिन्छ । क्यूआर कोड अर्थात् क्विक रेस्पोन्स कोड छिटो छरितो, सहज, सरल र सुरक्षित कारोबारका लागि विकास भएको डिजिटल भुक्तानी प्रणाली हो । 

क्यूआर कोडबाट गरिने कारोबारले समाजलाई विद्युतीय (डिजिटल) कारोबारमा रूपान्तरण गर्न सहज रूपमा सघाएको क्यूआर सेवा प्रदायकहरूको भनाइ छ । नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियान अन्तर्गत क्यूआर सेवा वित्तीय क्षेत्रको प्राथमिकतामा परेको छ । छिटो, छरितो र सुरक्षित कारोबार गर्न सकिने भएकाले पनि क्यूआरको प्रयोग बढेको छ । समाजमा डिजिटल रूपान्तरण गर्ने एक महत्त्वपूर्ण हिस्साको रूपमा क्यूआरलाई लिन थालिएको छ । 

क्यूआर कोड भुक्तानी सेवा मात्रै नभएर सूचना बाहक पनि हो । क्यूआरबाट सजिलै सूचना पाउन सकिन्छ । क्यूआरमा सेतो र कालो पृष्ठभूमिमा स्क्वायर ग्रिडमा चारकुने स्क्वायर प्याटर्न समावेश गरिएको हुन्छ जसलाई क्यामराको लेन्सले सजिलै पढ्न सक्छ । यो कोड बैङ्क तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूले उपलब्ध गराएका हुन्छन् । उक्त कोडलाई मोबाइलबाट क्लिक गरेर तत्काल कारोबार गर्न सकिन्छ । 

क्यूआर कोड हरेक बैङ्क तथा वित्तीय संस्थाहरूले उपलब्ध गराएका छन् । आजभोलि भुक्तानी सेवा प्रदायक कम्पनीहरूले पनि क्यूआर सेवा उपलब्ध गराउँदै आएका छन् । जसमध्येको आईएमई पे मोबाइल वालेटमा पनि क्यूआर कोड सेवा उपलब्ध छ ।

‘आईएमई पे’ क्यूआर

‘आईएमई–पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक (मोबाइल वालेट) कम्पनी हो । ‘आईएमई पे’ मोबाइल वालेटले २०१९ मार्चबाट क्यूआर कोड सेवा उपलब्ध गराउँदै आएको छ ।  

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार यूनिफाइड क्यूआर कोडको विकास गरी सेवा प्रदान गर्दै आएको आईएमई पे क्यूआरले जुनसुकै क्यूआरलाई स्क्यान गर्न सक्ने आईएमईका सूचना अधिकारी राजु पौडेलले बताए । उनले भने, ‘आईएमई पे क्यूआरको मुख्य विशेषता भनेको ‘स्क्यान एनी क्यूआर’ अर्थात नेपालमा उपलब्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका क्यूआर वा भुक्तानी सेवा प्रदायकहरूको क्यूआर स्क्यान गर्नु हो । जुन सेवा अन्य क्यूआर कोड सेवामा उपलब्ध छैन ।’

यदि ग्राहकको मोबाइलमा आईएमई पे एप डाउनलोड गरिएको छ भने त्यसमार्फत नेपालमा उपलब्ध कुनै पनि क्यूआर स्क्यान गरी आफूले चाहेको कारोबार गर्न सकिन्छ । आईएमई पेले ‘एप एक क्यूआर अनेक’ भन्ने नारा तय गर्दै एउटै एपबाट नेपालमा उपलब्ध कुनै पनि क्यूआर स्क्यान गर्न सकिने सुविधा उपलब्ध गराएको सूचना अधिकारी पौडेलले बताए । 

आईएमई पेले व्यावसायिक र व्यक्तिगत दुवै प्रयोजनका लागि क्यूआर कोड उपलब्ध गराउने गरेको छ  भने क्यूआर कोड निःशुल्क वितरण गर्दै आइरहेको छ । आईएमईले पेट्रोल पम्पहरूबाट क्यूआर सेवाको सुरुवात गरेको हो । नेपालको पेट्रोल पम्पहरूमा क्यूआर सेवा सुरु गर्ने आईएमई पे पहिलो भएको आईएमई पेका विजनेश प्रोमोशन अफिसर अनुज खत्रीले बताए । उनका अनुसार आईएमई पे मोबाइल एप प्रयोगकर्ता र अन्य मर्चेन्टहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । 

नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानलाई सफल बनाउन यस्ता इन्टर अपरेवल सेवा प्रभावकारी हुने विश्वास लिएको आईएमईका सूचना अधिकारी पौडेलले बताए । आईएमई पे क्यूआर कोडको सेवामा २ लाख भन्दा बढी उपभोक्ताहरु जोडिएको उनले बताए । 

नेपाल राष्ट्र बैङ्कले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनअनुसार मोबाइल बैंकिङ्ग क्यूआर कोडबाट उपभोक्ताहरुले प्रति दिन १ लाख रुपैयाँ र प्रति महिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने सीमा तोकेको छ । उक्त सीमामा रहेका कारोबार गर्न सकिने पौडेल बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

ग्राहकहरूले सबैभन्दा पहिले मोबाइलमा आईएमई पे एप डाउनलोड गर्नुपर्छ । उक्त एप लगअन गरेर आफ्नो मोबाइल नम्बर र सम्पूर्ण विवरण रजिष्टर्ड गरेपछि यो सेवा उपलब्ध हुन्छ । आफ्नो व्यक्तिगत एकाउन्ट खुलेसँगै मोबाइल बैंकिङ्ग, ई बैंकिङ्ग, भिसा कार्ड, कनेक्ट आईपीएस र आईएमईका कुनै पनि एजेन्टमार्फत रकम लोड गरी कारोबार गर्न सकिन्छ । उक्त एपमा रहेको क्यूआर कोड अन्य क्यूआरमा स्क्यान गरी तत्काल कारोबार गर्न सकिन्छ । 

कुनै पनि सामान वा सेवा खरिद गर्दा आईएमई पे एपको क्यूआर मार्फत उपलब्ध कुनै पनि क्यूआरलाई मोबाइल लेन्समार्फत क्लिक गरेर स्क्यान गरेर कारोबार गर्न सकिन्छ । आईएमई पेको क्यूआरमा नेपालमा उपलब्ध बैङ्क तथा वित्तीय संस्था देखि भुक्तानी सेवा प्रदायकहरूको फिचर लिङ्क भएको हुन्छ जसबाट सहजै र सुरक्षित कारोबार गर्न सकिने खत्रीले बताए । 

क्यूआर कोडमार्फत भुक्तानी गर्दा नगद बोक्ने झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने भएकाले यो निकै सहज छ । साथै, ग्राहकबाट भुक्तानी भएको रकम बैङ्क खातामा सिधै जम्मा हुने हुँदा सुरक्षित समेत हुन्छ । 

कोरोना महामारीले पनि डिजिटल कारोबारलाई बढावा दिन मद्दत गरेको देखिन्छ । नगद कारोबारबाट महामारीको जोखिम बढ्ने सम्भावना भएकाले डिजिटल कारोबारीको सङ्ख्या ह्वात्तै बढेको छ । जसमा पनि क्यूआर कोडको प्रयोग झनै बढेको छ । विकसित देशहरूमा लामो समयदेखि क्यूआर सेवा उपलब्ध भए पनि नेपालमा यसको उपभोग अहिले आएर बढ्न थालेको छ । 

ग्राहकलाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन स्किम

आईएमई पेले ग्राहकलाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन विभिन्न योजनाहरू पनि सार्वजनिक गर्ने गरेको छ । अहिले क्यूआर मार्फत कारोबार गर्ने ग्राहकहरूका लागि भनेर ‘स्क्यान एन्ड विन’ योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक दिन क्यूआर कोड स्क्यान गर्ने एक जना भाग्यशाली ग्राहकलाई १ हजार क्यास ब्याक प्रदान गर्ने आईएमई पेका विजनेसको प्रोमोशन अफिसर अनुज खत्रीले बताए । यो अभियान सेप्टेम्बर १ देखि ३० सम्म चल्ने उनले बताए । यसैगरी आईएमई पेले क्यास ब्याक, विभिन्न योजनाहरू पनि ल्याएको छ । जसबाट ग्राहकले उच्चतम फाइदा लिन सक्नेछन् । 

खत्रीले आईएमई पेले सुगमदेखि दुर्गमसम्म क्यूआर सेवालाई विस्तार गरेको बताएका छन् । ग्राहकले आईएमई पेमा रेमिट्यान्स डिपोजिट गर्न सकिने सुविधा पनि ल्याएको छ । विदेशबाट अर्थात नेपाल भित्रै पनि रेमिट्यान्स पठाउँदा सिधै आईएमई पे वालेटमा पठाउन सकिन्छ । यसबाट आईएमई पे वालेटमा रकम जम्मा हुन्छ र क्यूआरबाट कारोबार गर्न वा कसैलाई पठाउन परेमा पनि आईएमई पेबाट पठाउन सकिन्छ । आईएमई पेले खातावालालाई निश्चित ब्याजदर पनि दिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप