बालकथा : अर्जुनको परीक्षा

person explore access_timeभदौ २९, २०७८ chat_bubble_outline0

आज बालदिवस । राज्यले भाइबहिनीहरूका निम्ति तोकिदिएको दिवस । आजको दिन सरकारले बालबालिकाहरूका लागि पहिले गरेको कामको समीक्षा गर्छ र पछि गर्नुपर्ने कुराको चर्चा गर्छ । यसको अर्थ सरकारले मात्र सोच्ने दिन भन्ने होइन भाइबहिनीहरूले पनि आफ्ना लागि सोच्ने दिन हो । यस दिनले बालबालिकालाई कसरी असल मानिस बनेर देश र समाजको सेवा गर्न सकिन्छ भन्ने कुरा सिकाउन खोजेको छ । यस सम्बन्धमा यहाँ यस्तै एउटा रोचक कथा प्रस्तुत गरिएको छ, जसले भाइबहिनीहरूलाई असल नागरिक भन्नेबारे  जानकारी गराउनेछ ।

प्रसङ्ग महाभारतको हो । पाण्डु तथा कुरु राजकुमारहरूलाई शस्त्र विद्या पढाउने गुरुमा द्रोणाचार्य नियुक्त भएका थिए । उनका शिष्यमा एक आफ्नै छोरा अश्वत्थामा पनि थिए । गुरुका निम्ति सबै विद्यार्थी समान हुनुपर्ने भए पनि द्रोणाचार्य सकेसम्म आफ्नै छोरालाई सर्वश्रेष्ठ विद्यार्थी बनाउन चाहन्थे । प्रत्यक्ष देखिने गरी सबैलाई समान ठान्थे तर भित्रभित्रै भने बढी निगरानी छोरामाथि नै गर्थे । तथापि सर्वश्रेष्ठ विद्यार्थी बन्ने लक्षण भने अर्जुनमा देखिन थाल्यो । त्यसैले छोरालाई थप छुट्टै पढाउने विचार गरी प्रत्येक दिन बिहान अरुभन्दा चाँडै आफूकहाँ आउनु भने ।

अश्वत्थामा बाबुको आज्ञा अनुसार अरूभन्दा चाँडै उनको आश्रममा पुग्थे । यही बेला द्रोणाचार्य उनलाई थप विद्या सिकाउने गर्थे । बिस्तारै अर्जुनले थाहा पाए र उनी पनि हतारहतार नित्य कर्म सकी अश्वत्थामासँगै गुरुको आश्रममा पुग्न थाले । गुरु जति चलाख थिए शिष्य त्योभन्दा एक पाइलो अगाडि देखिए । आफ्नो चलाखी काम नलाग्ने प्रष्ट भएपछि उनले छोरासँगै अर्जुनलाई पनि अतिरिक्त शिक्षा दिन थाले । जसलाई पढाइप्रति बढी लगाव हुन्छ उसलाई रोक्न खोजेर कहाँ सकिन्छ र । पानीलाई रोक्न खोज्नु र यस्ता विद्यार्थीलाई रोक्न खोज्नु उस्तै हो । जति रोक्न खोज्यो उति बलियो बनेर प्रस्तुत भइदिन्छ । यहाँ पनि यस्तै भएको थियो । शिष्यको चलाखीसँग गुरुको चलाखीले हार खायो ।

राजकुमारहरूको पढाइ पूरा भयो । गुरुले सर्वश्रेष्ठ विद्यार्थी छान्न परीक्षा लिने विचार गरे । यसका लागि सार्वजनिक चौतारो चुनियो र बरको रुखको टुप्पोमा सानो नक्कली चराको आकृति झुन्ड्याएर उसको आँखामा बाण हान्नुपर्ने व्यवस्था गरियो । गुरुले परीक्षा सुरू गरे । विद्यार्थीहरू एकएक गरी धनुषमा बाण राखेर धनुको ताँदो खिच्न लागे । जब बाण छाड्ने बेला हुन्थ्यो गुरु प्रश्न गर्थे–

‘बाबु भन के देखेका छौ भन न त ।’

विद्यार्थीहरू मध्ये कोही चरो देखेको छु भन्थे, कोही बरको रुख देखिएको छ भन्थे । कोही बरको हाँगो देखेको छु भन्थे कोही बरको रुखको टुप्पो मात्र देखिएको छ भन्थे । अझ कोही त चराको आकृति, बरको रुख, हाँगो पात सबै देखिएको छ भन्न पनि भेटिएका थिए । फलतः कसैको पनि निशाना लाग्दैनथ्यो । कोही कतै हान्थे कोही कतै । जहाँ निशाना लगाउनुपर्ने थियो त्यहाँ भने कसैले पनि सक्दैनथे ।

जब अर्जुनको पालो आयो । गुरुले उनलाई पनि अरूलाई जस्तै सोधे–

‘बाबु अर्जुन ! भन त के देखेका छौ ?’

उत्तरमा अर्जुनले भने–

‘चराको एउटा आँखो बाहेक केही पनि देखिएको छैन गुरुदेव !’

गुरुले स्याबास भन्दै बाण चलाउन लगाए । उनको बाण भने चराको आँखो छेडेर गयो ।

यसको अर्थ हो पढेर मात्र पनि नहुँदो रहेछ । पढाइका साथै एकाग्रता पनि चाहिँदो रहेछ । पढ्न त सबैले पढेका थिए तर लक्ष्यमा पुग्न भने सकेनन् । कारण तिनमा एकाग्रताको कमी थियो तर अर्जुन पढाइका साथै लक्ष्यमा एकाग्र हुने पनि गर्थे । फलतः यसैले नै उनलाई परीक्षामा सफल गरायो ।

यो एउटा दृष्टान्त हो । वास्तवमा हरेक विद्यार्थीमा यही नियम लागू हुन्छ । पढ्नुभन्दा मनन गर्नु उत्तम, मनन गर्नुभन्दा एकाग्रता झन् बढी उत्तम मानिन्छ । यदि जीवनमा सफलता चाहने हो भने कसैले पनि यस सूत्रलाई बिर्सन हुँदैन । 

महाभारतको युद्धमा कतिपय यस्ता अजेय वीरहरू पनि थिए, जसमाथि विजय पाउनु लर्तरो कुरा थिएन तर अर्जुनले त्यस्ता वीरहरूलाई पनि हराएका थिए । भीष्म र कर्णजस्ता अद्वितीय पराक्रमीहरूसमेत अर्जुनकै बाँणबाट धराशयी भएका थिए ।

अव त भाइबहिनीहरूलाई पनि प्रष्ट भयो होला विद्यार्थीले आफ्नो लक्ष्यप्रति कति बढी तल्लीन हुनुपर्दो रहेछ भन्ने कुरा । पढ्नुको अर्थ सतही किताबी ज्ञान मात्र होइन । लक्ष्यमा पुग्नु पनि हो । यो त्यतिबेला सम्भव हुन्छ, जहाँ पढाइको साथमा अभ्यास पनि गर्ने गरिएको हुन्छ । जसले नियमित अभ्यास गर्ने गरेको छ उसलाई जस्तोसुकै कठिन काम पनि असम्भव हुँदैन । जीवनमा कठिनाई पदपदमा आउँछ तर आत्तिन हुँदैन । लक्ष्य पहिल्याएर त्यसैमा तल्लीन हुनुपर्छ जस्तोसुकै कठिनाइ पनि सहजै पार गर्न सकिन्छ ।  अर्जुनलाई यस्तै भएको थियो । 

लक्ष्य थियो सानो चराको आँखामा बाण लगाउनु । लक्ष्यप्रति संवेदनशील नहुने विद्यार्थीले नदेख्नुपर्ने सबै देखे देख्नुपर्ने आँखोलाई भने देख्दैदेखेनन् । फलतः उनीहरूको बाणले आँखो त के चरालाई समेत छुन सकेन तर अर्जुन त्यस्ता थिएनन् । सदैव लक्ष्यलाई ध्यान दिन्थे र त्यसैमा तल्लीन हुने गर्थे । फलतः उनलाई परीक्षामा पनि त्यही देखाइदियो, जुन आवश्यक थियो ।

जीवन आफैँमा परीक्षा हो, जसले समस्या पहिचान गरेर त्यसलाई निराकरण गर्ने अभ्यास गरेको हुन्छ उसलाई प्रत्येक समस्याको जड पत्ता लाग्न पनि सक्छ र त्यसलाई हटाउन पनि सहज हुन्छ । होइन भने परेको बेला हडबडी बाहेक केही हातलागि हुँदैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।