शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले सुरक्षित महसुस गर्छन् : ढकाल

मङ्गलबार, २९ भदौ २०७८, ०९ : ५६
मङ्गलबार, २९ भदौ २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरूले आफूलाई लगानीका लागि सुरक्षित महसुस व्यक्त गर्ने बताएका छन् । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक 'बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास' को लोकार्पण कार्यक्रममा बोल्दै ढकालले पहिलेदेखि नै निजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले निजी क्षेत्रले उठाएको विषयलाई थप बल पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

कुनै पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानुनको बारेमा जान्नुपर्ने बताउँदै उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्त्व निकै धेरै रहेकोसमेत बताए । उनले सो पुस्तकले लगानीकर्ताहरूलाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग पुर्‍याउनेसमेत बताएका छन् । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्ने बारेमा विस्तृत रूपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताए । बौद्धिक सम्पत्तिको महत्त्व बुझे यसबाट उचित लाभ लिन सकिने बताउँदै उनले निजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमा समेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्दत पुर्‍याउनेसमेत बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा सो पुस्तक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरू बढी रहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।  बौद्धिक सम्पत्ति कानुनलाई राम्रोसँग केलाइएको सो पुस्तक पुस्तक नेपाली र अङ्ग्रेजी भाषामा रहेकाले सबैले सहज रूपमा बुझ्न सक्ने बताउँदै उनले सो पुस्तक बौद्धिक सम्पत्ति कानुन बुझ्न चाहने जो कोहीलाई पनि उपयोगी हुने बताएका छन् । 

कार्यक्रम बोल्दै न्यायाधीश अनिल कुमार सिन्हाले सो पुस्तक अहिलेको बौद्धिक सम्पत्ति क्षेत्रका लागि आवश्यक भएको बताए । अहिले संविधानले बौद्धिक सम्पत्तिलाई सम्पत्तिको रूपमा ग्रहण गरेको स्मरण गर्दै उनले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुन बुझ्न चाहने जो कोहीलाई यो पुस्तक निकै नै उपयोगी हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप