आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा राष्ट्रिय जनगणनाको तयारी

मङ्गलबार, २९ भदौ २०७८, ०९ : २७
मङ्गलबार, २९ भदौ २०७८

चितवन जिल्लामा जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।

यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक्षक खटिने छन् ।  सुपरीवेक्षकले सूचीकरणको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्नेसम्मका काम गर्नुपर्ने छ ।

आगामी असोज १० गते जिल्लामा जनगणनका लागि ८५७ गणकको नतिजा सार्वजनिक हुने छ । गणकको नियुक्तिपछि  एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन् । गणकका लागि आगामी कात्तिकमा तालिम दिइने छ । गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गर्ने उनले जानकारी दिए । 

जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको हो ।

सङ्घीयतापछिको पहिलो जनगणना भएकाले गणकले कृषि गणनासमेत गर्ने उनले जानकारी दिए । गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्ने छ ।  

विसं २०६८ को जनगणनाअनुसार पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसङ्ख्या  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप