शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थी राजनीति छाड्दै मिश्र

सोमबार, २८ भदौ २०७८, १९ : १३
सोमबार, २८ भदौ २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यार्थी राजनीति छाड्ने भएका छन् । २०६४ मा गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीदेखि विद्यार्थी संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आएका मिश्रले अब पार्टीको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका हुन् ।

उनले तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थी संगठनमा अध्यक्ष पदमा रहेर काम गरेका छन् । अब अरुलाई जिम्मेवारी सुम्पेर पार्टीको मुल कमिटीमा काम गर्ने मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘१४ वर्ष विद्यार्थी संगठनमा बसेर काम गरेँ, अब अरुलाई पनि मौका दिनुपर्छ भनेर म अब पार्टीको मुल कमिटीमा पाएको जिम्मेवारी अनुसार काम गर्छु ।’

मिश्र शंकरदेव क्याम्पसमा स्नातक अध्ययन गर्दा तत्कालीन तमलोपाको विद्यार्थी संगठनबाट राजनीति सुरूवात गरेका थिए । शंकरदेव क्याम्पसमा तमलोपा विद्यार्थी संगठनमा सह–संयोजकको जिम्मेवारी सम्हालेका उनी विद्यार्थी संगठनको केन्द्रीय समितिमा सह–महासचिव, महासचिव हुँदै पहिलो महाधिवेशनबाट केन्द्रीय अध्यक्षसमेत भएका थिए । त्यसपछि लगातार सो संगठनको अध्यक्ष पदमै रहेर उनी लोसपासम्म आइपुगे ।

२०७० सालको आम निर्वाचनमा तत्कालीन राजपा नेपालबाट प्रदेश २ को प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फबाट उम्मेदवार बनेका उनले अब भने लोसपाको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप