शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले दियो मुख्यमन्त्री आचार्यलाई समर्थन नरहेको जानकारी

सोमबार, २८ भदौ २०७८, १७ : ३९
सोमबार, २८ भदौ २०७८

प्रदेश १ को प्रदेशसभामा ७ वटा दलहरूको सहभागिता भएको छ । सोमवार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेता चयन गरेको बारेमा लिखित रुपमा प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ७ पुगेको हो ।

प्रदेशसभामा अब सबै भन्दा ठुलो दल ४० सांसदका साथ नेकपा एमाले, कायम रहेको छ भने दोस्रो दल २१ सांसदका साथ नेपाली काँग्रेस रहेको छ ।

यसैगरी १५ सांसदसहित नेकपा माओवादी केन्द्र तेस्रो र १० सांसद् भएको नेकपा एकीकृत समाजवादी चौथो दल बनेको छ ।

 ३ सांसद् रहेको जनता समाजवादी पाँचौं, १÷१ सांसद् रहेका राप्रपा र संयुक्त लोकतान्त्रिक मञ्च क्रमशः छैटौं  र सातौ दलका रुपमा रहेका छन् । नेकपा एमालेको विभाजन पछि नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका १० जना सांसदहरुलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो ।

नेकपा एमालेको विभाजन पछि राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एमाले त्यागेर नेकपा एसमा सनाखत गरेका हुन् ।

गत भदौ ९ गते नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा (२) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ बमोजिम नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी दल यस आयोगमा दर्ता भएको थियो ।

एमालेबाट बाग्मती प्रदेशसभा सदस्यहरुले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एकीकृत समाजवादी दलमा प्रवेश गर्नका लागि प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेको आयोगले जनाएको छ ।

भीम आचार्यको सरकार अल्पमतमा

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेर प्रदेश सभालाई जानकारी गराइसकेको छ ।

समाजवादी दलको तर्फबाट सावित्री कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र सोमबार हस्तान्तरण गरेकी हुन् । सचिवालयमा दिएको पत्रमा भीम आचार्यको सरकारलाई आफ्नो दलको समर्थन नरेकोपनि जानकारी गराइएको छ । यससँगै आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आचार्यले अब असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ।

सरकार गठनका लागि वार्ता समिति

यसैबीच एकीकृत समाजवादी पार्टी प्रदेश १ ले संसदीय दलको बैठकले आगामी सरकार निर्माणका लागि गठबन्धन दलभित्र छलफल गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेको छ ।

अन्य गठबन्धन दलहरूसँग वार्ता गर्न संसदीय दलका नेता राजेन्द्र राई र सांसद राजन राईको नेतृत्वमा समिति निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप