शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १ लाख ७८ हजार मतदाता, कुन क्षेत्रमा कति मतदाता ?

बुधबार, १५ कात्तिक २०७४, १५ : ०३
बुधबार, १५ कात्तिक २०७४

भक्तपुर –अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुरमा १ लाख ७८ हजार ९९ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । 
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार राईले  भक्तपुरमा  १ लाख ७८ हजार ९९ जना मतदाता रहेको जानकारी दिए । 

जसमा ८६ हजार ४ सय ८० जना पुरुष र ९१ हजार ६ सय १४ जना महिला मतदाता रहेका छन् ।  भक्तपुरमा पाचँ जना तेस्रो लिङ्गी मतदाता समेत रहेका छन् । 
गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरमा एकलाख ६२ हजार ८ सय ८९ मतदाता रहेका थिए । 

पछिल्लो समय भक्तपुरमा १६ हजार ५ सय ७० जना मतदाता थपिएको राइले जानकारी दिए । 

भक्तपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रदेश सभा क्षेत्र १ जहाँ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नम्बर वडा पर्दछ  । उक्त स्थानमा  ४३ हजार ५ सय ५२ जना मतदाता रहेका छन् । यहाँ २२ मतदान स्थल र ५३ मतदान केन्द्र हुनेछ । 

उक्त निर्वाचन क्षेत्रको प्रदेश सभा २ जहाँ भक्तपुर नगरपालिकाको १ देखि ९ नम्बर वडा रहेको छ । त्यहाँ ५० हजार ६ सय १२ मतदाता रहेका छन् । उक्त क्षेत्रमा १६ मतदान स्थल र ५८ मतदान केन्द्र रहेको छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २को प्रदेशसभा निर्वाचन क्षेत्र १ सूर्यविनायक नगरपालिका रहेको छ । उक्त क्षेत्रमा ४४ हजार ८९ जना मतदाता रहेका छन् । यहाँ २३ मतदान स्थल र ५४ मतदान केन्द्र रहेको छ । 

त्यसैगरि प्रतिनिधि सभा निर्वाचन क्षेत्र २को प्रदेशसभा निर्वाचन क्षेत्र २ मध्यपुर नगरपालिका रहेको छ । उक्त क्षेत्रमा ३९ हजार ८ सय ४६ जना मतदाता रहेका छन् । यहाँ १७ मतदान स्थल र ४४ मतदान केन्द्र रहेको छ । 

भक्तपुरको चार नगरपालिकामा रहेको ३८ वडामा ७८ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहने कार्यालयले जानकारी दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप