मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

देउवा–सिटौलासँग किन टाढिए गगन र विश्वप्रकाश ?

सोमबार, २८ भदौ २०७८, १२ : १६
सोमबार, २८ भदौ २०७८

नेपाली काँग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले ‘गुट’ परिवर्तनको सङ्केत देखाएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका दुवै प्रतिस्पर्धीमध्ये शर्मा देउवा समूहका नेता हुन् भने थापा संस्थापन इतर पक्षका नेता हुन् ।

भदौ १४ गते सम्पन्न काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलामा गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि भदौ १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको पत्रकार सम्मेलनमा थापा सहभागी बनेका थिए ।

यस्तै, काँग्रेसका प्रवक्तासमेत रहेका शर्माले भदौ २४ गते काँग्रेसका संस्थापक बीपी कोइरालाको १०८ औँ जन्म जयन्तीको अवसर पारेर सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । त्यसको दोस्रो दिन सभापतिका दाबेदार विमलेन्द्र निधिको निवासमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएको शर्माको तस्बिर सार्वजनिक भयो ।

काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने थापा र शर्मा पहिलो हुन् । तर, एक दर्जन बढी नेताहरूले महामन्त्रीमा दाबी गरेको अवस्था छ ।

देउवाको समूहबाट सहमहामन्त्री प्रकाशशरण महत, नेता बालकृण खाँण,  ज्ञानेन्द्र कार्की, एनपी साउद र रमेश लेखकलगायत  महामन्त्रीका दाबेदार छन् ।

यस्तै पौडेल समूहबाट डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरेले पनि महामन्त्रीमा दाबी गरेका छन् । कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री उम्मेदवारी घोषणा प्रदीप पौडेलको तयारी छ । गगन थापा सुरुमा रामचन्द्र पौडेल पक्षका नेता मानिन्थे । तेह्रौँ महाधिवेशनमा उनी कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा लडेका थिए ।

देउवासँग शर्मा कसरी जोडिए, किन छुटे ?

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माले शेरबहादुर देउवासँगको एक दशकको गुटगत निकटता तोड्ने सङ्केत देखाएका छन् । तत्कालीन संस्थापन पक्षले अवसर नदिएपछि उनी २०६७ पछि आन्तरिकरुपमा देउवासँग खुलेका थिए ।

तत्कालीन सुशील कोइरालाका पालामा नेविसंघका अधिकांश पूर्व सभापतिलाई केन्द्रीय कार्य समितिमा ल्याइएको थियो । २०६७ असोजमा भएको महाधिवेशनमा केन्द्रीय सदस्यमै हारेका युवा नेतासमेत केन्द्रीय कार्यसमितिमा अटाए । तर, झापा जिल्ला सभापतिमा पराजित शर्मा भने मनोनीत केन्द्रीय सदस्यको लिस्टमा अटाउन सकेनन् ।

तत्कालीन संस्थापन पक्षलाई चुनौती दिएर झापा जिल्ला सभापतिको उम्मेदवार बनेपछि शर्मा देउवासँग नजिकिँदै गए । तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलासँग खटपट भए पनि सुशील कोइरालाले शर्मालाई आफ्नै मान्छे ठानेका थिए । तर, ०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनताका संसदीय बोर्डमा देउवाले आफ्नो कोटाबाट शर्मालाई सांसद बनाउन सिफारिस गरेपछि शर्माको कित्ता क्लियर भएको हो ।

 देउवाकै सिफारिसमा शर्माले सांसदको टिकट पाए । त्यसपछि बल्ल सुशीललाई उनी देउवाका मान्छे रहेछन् भन्ने पर्‍यो । त्यसपछि उनले केन्द्रीय सदस्य मनोनीत गर्दा शर्मालाई बाइपास गरे । शशांक कोइरालाले शर्मालाई केन्द्रीय सदस्य बनाउन चाहे पनि सुशील कोइराला तयार भएनन् । अन्ततः केन्द्रीय समितिमा प्रवेशका लागि शर्माले १३ औँ महाधिवेशन कुर्नुपर्‍यो । देउवा टीमबाट १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा शर्मा चौधौँ नम्बरमा निर्वाचित भए ।

तर, कोइराला परिवारको छत्रछायामा विद्यार्थी राजनीति गरेका शर्मा देउवा समूहमा ‘टुरिस्ट’ जस्तै थिए । उनी निकट विद्यार्थी नेता–कार्यकर्ताहरू रामचन्द्र पौडेलसँगै थिए । किनभने, ०५९ मा काँग्रेस फुटाउँदा देउवालाई शर्माको साथ थिएन ।

नेविसंघ पृष्ठभूमिका अधिकांश नेताहरूले देउवाको काँग्रेस (प्रजातान्त्रिक) लाई साथ दिँदा शर्मा भने काँग्रेसमै रहे । त्यसैले पनि पार्टी एकीकरणपछि देउवा समूह रोजेका शर्मा देउवाको भित्रिया भन्न सकेको अवस्था थिएन ।

देउवाले पार्टी र सरकारको नेतृत्व गरेका बेला ०७४ को चुनावमा काँग्रेसले नराम्रो पराजय भोग्यो । पार्टीभित्र र बाहिरबाट देउवा नैतिक प्रश्नले घेरिए । त्यसमा पनि पार्टीको युवापंक्ति देउवाको विकल्प खोज्नुपर्ने योजना बुन्न थाल्यो । देउवा समूहकै शर्मा पनि त्यसमा सामेल देखिए ।

त्यहीबेला आम निर्वाचन अगाडि गगन थापालाई प्रवक्ता बन्न प्रस्ताव गरेर पछि हटेका देउवाको नजर शर्मामाथि पर्‍यो । देउवाले थापालाई प्रवक्ता बनाउन खोज्दा विपक्षमा उभिएका नेताहरूले शर्माको हकमा मौन समर्थन जनाए ।  अन्ततः देउवाले ०७४ पुस २५ गते शर्मालाई प्रवक्तामा मनोनीत गरे । प्रवक्ता बनेपछि उनी देउवाको किचन क्याबिनेटमा पुगे । देउवाले पनि उनलाई राम्रैसँग काखी च्यापे ।

प्रवक्ता भएको दुई वर्षसम्म शर्माको भूमिकाप्रति पार्टीभित्र प्रश्न उठे पनि देउवा उनीसँग खुसी नै थिए । आफू निकट केही नेताहरूले शर्मालाई प्रवक्ताबाट हटाउन देउवासँग माग नगरेका होइनन्  । तर, देउवाले शर्माले हटाउन रुचि देखाएनन् ।

देउवाले बोल्न ढङ्ग नपुर्‍याएका विषयमा रफ्फू भर्ने काम शर्माको थियो । देउवाले विभाग गठन गर्दा पनि प्रचार विभागको जिम्मेवारी शर्मालाई नै थिए । शर्माले कतिपय अवस्थामा सभापति देउवाकै धारणा पनि सच्याउने गरेको पाइन्थ्यो ।

यहीबीचमा प्रवक्ताको जिम्मेवारीलाई बेवारिसे छोडेर एउटा एनजीओको कार्यक्रम ‘ऐना’को प्रस्तोता बन्न हिँडेपछि भने देउवासँग शर्माको दुरी बढ्न थालेको काँग्रेस नेताहरू बताउँछन् ।

राष्ट्रिय राजनीतिमा उथलपुथल भइरहेका बेला शर्मा ऐना कार्यक्रमको सुटिङमा हिँडेपछि सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले अघोषित प्रवक्ताको भूमिका खेलेका थिए । देउवा प्रधानमन्त्री बन्ने परिस्थितिमा पनि शर्माको सक्रियता देखिएन ।

पछिल्लो समय प्रधानमन्त्री देउवाको सचिवालयले तयार पारेको भिडियोबारे शर्माले सार्वजनिक टिप्पणी गरेको देउवालाई मन परेको थिएन । यद्यपि महामन्त्री पूर्णबहादुर खड्का र शर्माको दबाब र देउवाकै निर्देशनमा उक्त भिडियो उत्पादन बन्द भएको थियो । त्यसले देउवा र शर्माको दुरी थप बढाएको काँग्रेसभित्र चर्चा छ ।

देउवा निकट केही नेताहरूले यही प्रकरणमा शर्मालाई प्रवक्ताबाट हटाउने मागसमेत गरेका थिए । तर, देउवाले महाधिवेशनको मुखमा हटाउँदा शर्माको अनावश्यक चर्चा हुने जवाफ दिएका थिए । र, यहीँबाट आफूप्रति देउवाको मोह भङ्ग भएको शर्माले सङ्केत पाए  । यस्तो अवस्थामा संस्थापन पक्षबाट पदाधिकारीको टिकट पाउन पनि मुस्किल देखिएपछि शर्मा हतार– हतार महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने अवस्थामा पुगेको देउवा समूहकै नेताहरू बताउँछन् ।

देउवा निकट एक नेताले भने, ‘कृष्णप्रसाद सिटौला पार्टीमा हाबी भएपछि तत्कालीन संस्थापन पक्षबाट अवसरको ढोका बन्द भयो । उहाँ शेरबहादुर दाइलाई साथ दिनभन्दा पनि असरको खोजीमा हामीसँग जोडिनुभएको थियो । उहाँले राम्रै अवसर पनि पाउनुभयो । अहिले अवसर नदेखेपछि जानुहुन्छ होला ।’

करिब एक दशक देउवाको वरिपरि बसेर राजनीतिक उचाइ बढाएका शर्माले १४ औँ महाधिवेशनमा निधिलाई रोज्ने सङ्केत दिएका छन् । देउवालाई नेता बनाउन संघर्ष गरेका निधिले साथ छोडेकै बेला शर्माले पनि देउवाको साथ छोड्ने सङ्केत देखाउनु सामान्य भएको देउवा पक्षका नेताको भनाइ छ ।

गगनले किन छोडे सिटौलाको साथ ?

कृष्णप्रसाद सिटौला र गगन थापाको गुटगत सहकार्य ५ वर्ष ६ महिनापछि करिब टुंगिएको छ । गगन र सिटौलाबीच ०७२ फागुन १९ मा औपचारिक रूपमा गुटगत सहकार्य सुरु भएको थियो ।

थापाले १३ औँ महाधिवेशनका लागि ०७२ माघ पहिलो साता दाङ पुगेर महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए । तर, उनी कुन प्यानलबाट उम्मेदवार बन्ने भन्ने यकिन थिएन । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवा र सुशील कोइराला उम्मेदवार हुने पक्कापक्की थियो ।

तर, जिल्ला अधिवेशन उद्घाटनको साँझ सुशील कोइरालाको निधन भयो । त्यसपछि सिटौला पनि सभापतिको उम्मेदवार बन्ने परिस्थिति आयो । तत्कालीन संस्थापन पक्षबाट रामचन्द्र पौडेलसँग विद्रोह गरेर सिटौला सभापतिको दौडमा निस्किएका थिए ।

देउवा र पौडेल समूहले नपत्याएका थापा सिटौलाको सारथी बने । तर, सिटौला टीम पराजित भयो । यद्यपि १३ औँ महाधिवेशनमा सभापति लड्दा पराजित भए पनि सिटौलालाई अन्य नेताको हकमा फाइदै फाइदा भएको छ । किनभने, सिटौलाले योबीचमा देउवा र पौडेलसँग बसेर गुटगत डिल गर्ने हैसियत बनाए ।

तेह्रौँ महाधिवेशनमा पौडेल र देउवालाई सभापतिमा सघाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिभन्दा तेस्रो धार बनाएर सभापतिमा भिडेका सिटौलाको बार्गेनिङ पावर काँग्रेसमा बलियो छ । काँग्रेसमा आफ्नो उपस्थिति कायम राख्न सिटौला १४ औँ महाधिवेशनमा पनि सभापतिमै लड्ने मुडमा छन् । केही महिनाअघि नेपाल हाउसमा आफू पक्षीय बैठक राखेर सिटौलाले १४ औँ महाधिवेशनको योजना सुनाएका थिए ।

स्रोतका अनुसार १४ औँ महाधिवेशनमा पनि सभापति लड्ने योजना सिटौलाको छ । तर, १४ औँ महाधिवेशनमा भने गगनले साथ नदिने सङ्केत देखाएका छन् । यद्यपि आफ्नो टीमबाट यसपटक पनि थापालाई महामन्त्री बनाउने सिटौलाको चाहना थियो ।

सिङ्गो टीम लिएर जाँदा १३ औँमा ३२४ मत ल्याएका सिटौलाले १४ औँमा ५ सय बढी मत ल्याउन सकिने आँकलन गरेका थिए ।

यस पटक भ्रातृ संगठन  र जिल्लामा पनि टीम बनाएकाले केही भोट थपिने सिटौलाको बुझाइ छ । उक्त मत प्राप्त गर्दा एउटा हैसियत बन्ने र  पार्टीमा फेरि ‘किङमेकर’ हुन सकिने सिटौलाको विश्लेषण थियो । तर, सिटौलाको यो हिसाब–किताबमा गगन थापाले रातो मसी लगाइदिने सङ्केत देखिएपछि सिटौला गगन थापासँग चिढिएका छन् । त्यसो त नेपाल हाउसमा भएको छलफलमा गगन थापाजस्तै प्रदीप पौडेल र उमाकान्त चौधरीले पनि सिटौलासँग केही असन्तुष्टि प्रकट गरेका थिए । तर,  पौडेल र चौधरी भने सिटौलाकै प्यानलबाट अघि बढ्न तयार देखिएका छन् ।

नेपाल हाउसको भेलामा प्रदीपले छुट्टै समूहबाट चुनाव लड्ने वा देउवालाई सघाउने कुरामा आफू सहमत नरहेको बताएका थिए । सिटौला  फेरि सभापतिमा लड्दा ‘डिजास्टर’ हुन्छ भन्ने पौडेल लगायतका युवाको विश्लेषण थियो । समूहभन्दा पनि आफूलाई मात्रै केन्द्रमा राखेर सिटौलाले रणनीति बनाएको उनीहरूको गुनासो थियो ।

‘सिटौला दाइले सभापतिको कुनै उम्मेदवारलाई सहयोग गर्दा गगन थापा महामन्त्री र प्रदीप पौडेल र उमाकान्त चौधरी दुवैजना सहमहामन्त्री बन्ने अवस्था हुन्छ । अरु नेताहरू पनि सुरक्षित हुन्छन्’ सिटौला समूहमा एक नेताले रातोपाटीसँग भने, ‘उहाँ आफै सभापतिमा लड्दा हामी कसैले केही पाउँदैनौँ । पाउने भनेको त्यही पराजय मात्र हो ।’

सिटौला सभापतिमा लड्दा आफूहरुलाई क्षति हुने बुझाइपछि  गगन थापा १४ औँ महाधिवेशनबारे आफ्नो निर्णय आफै गर्नुपर्छ भन्नेमा पुगेको स्रोतले बतायो । अन्ततः गगनले सिटौलालाई छोड्ने निधो गरिसकेको अवस्था छ ।

महामन्त्रीमा दोस्रोचोटि उम्मेदवारी दिन लागेका थापा अहिले सभापतिका दाबेदार डा. शेखर कोइरालाको साथ र अर्जुननरसिंह केसीको सद्भाव बटुलेर पौडेल क्याम्पमा फर्किएका छन् । यता, सिटौलाले भने गगनको विकल्पमा प्रदीपलाई अगाडि सारेका छन् । गगनले साथ छोडेकामा सिटौला आक्रोशित छन् । महामन्त्रीमा पराजित भएपछि केन्द्रीय सदस्यमा मनोनीत गराउनेदेखि स्वास्थ्यमन्त्री बनाउनेसम्म आफ्नो हात रहेको सिटौलाको दाबी छ ।

यतिबेला सिटौलाले आफूलाई आफ्नो ‘केटो’ हो भन्ने बुझाइ राखेको गगनको गुनासो छ । आफैँ आफ्नो बाटो बनाउने क्रममा उनीसँग ठोक्किए पनि सिटौलाले आफूलाई नेता नबनाएको गगनको बुझाइ छ ।

आफ्नो कारणले सिटौलाले पनि फाइदा लिएको गगनले बताउने गरेका छन् । आफू निकटस्थहरूसँग गगनले भन्ने गरेका छन्, ‘एकोहोरो मात्रै कुरो नगरौँ, हामीसँगको सहकार्यले सिटौलालाई पनि फाइदा भएको हो, हामीलाई देखाएर उहाँले आफ्नो पोजिसन बलियो बनाउनुभएको हो, यसमा दोहोरै कुरा छ ।’

केही दिनअघि दरबारमार्गस्थित एल्लो प्यागोडा होटेलमा सिटौलाले गगनलाई कित्ता क्लियर गर्न भनेका थिए । त्यसको केहीदिनमै महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै थापा पौडेल पक्षमा खुलेका हुन् ।

सिटौलाको खेमाबाट महामन्त्रीमा चुनाव हारेर पनि गगन पाँच वर्ष राष्ट्रिय राजनीतिकै परिधिभित्र जमेका नेता हुन् । गगनको यो प्रभावलाई नजिकबाट नियालेका प्रदीपले सोही नीति अख्तियार गर्दै चौधौँ महाधिवेशनमा सिटौला क्याम्पबाट महामन्त्रीमै भिड्ने तयारी थालेका छन् ।

गगन–विश्वको कस्तो छ अवस्था ?

पौडेल समूहमा पनि गगनलाई महामन्त्री बन्न सकस छ । पौडेल समूहमा विभाजन आउँदा जितमा कठिनाइ थपिने देखिन्छ भने एक उम्मेदवार हुँदा महामन्त्री नपाउने जोखिम पनि उस्तै छ ।

सिटौला समूहको महामन्त्रीको उम्मेदवार बन्दा रेडजोनमा परिने चिन्तामा देखिएका गगन कम्फर्टजोनमा भने छैनन् । काँग्रेसमा बलियो गुटको सहारा बिना पदाधिकारी जित्न कठिन छ । त्यो अनुभव थापाले १३ औँ महाधिवेशनमै लिइसकेका छन् ।

पछिल्लो दुई/तीन वर्ष महामन्त्रीमा लागि राम्रै गृहकार्य गरेका थापा जितको सुनिश्चितताका लागि बलियो गुटको आश्रयको खोजीमा छन् । बलियो गुटबिना १३ औँको भन्दा केही मत बढेपनि जित्न कठिन हुने उनको बुझाइ छ ।

देउवाको बेवास्तापछि निधिकहाँ पुगेका विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बन्न भने कठिनाइ छैन । देउवासँग विद्रोह गर्ने तयारीमा रहेका निधि पदाधिकारीको खोजीमा छन् ।

यस्तो अवस्थामा निधिको दैलोमा पुगेका शर्मामाथि महामन्त्रीको उम्मेदवार हुन चुनौती छैन । तर जित भने कठिन छ । पार्टी प्रवक्ता भएर बनाएको राजनीतिक हाइट मात्र महामन्त्री जित्न पर्याप्त छैन । निधिसँग कुनै गुटगत आधार भएको नेता जोडिँदा र देउवा गुटको ३० प्रतिशत हिस्सा खोस्न सक्दा मात्र लोकप्रिय मतले शर्मालाई जिततिर डोर्‍याउन सक्छ । नभए १३ औँ महाधिवेशनमा गगनको हालत विश्वले भोग्नुपर्ने देखिन्छ । तत्कालीन कोइराला क्याम्पबाट एक्लै देउवा समूहमा पुगेका थिए शर्मा ।

देउवा समूहबाट निधि समूहमा जाँदाको स्ट्रेन्थ पनि उस्तै छ । अहिले नै महाधिवेशनको ध्रुवीकरण प्रस्ट भइनसकेकाले थापा र शर्माको जितबारे अनुमान लगाउन कठिन छ ।

तर, सभापतिका ५ जनासम्म उम्मेदवार भएको अवस्थामा मत विभाजन हुँदा एक हजार मत कटाउने उम्मेदवार जित नजिक पुग्ने सम्भावना छ । काँग्रेसको १४ औँ महाधिवेशनमा करिब ५ हजार महाधिवेशन प्रतिनिधिले भाग लिने करिब पक्का छ । यस्तो अवस्थामा बलियो गुट र कमजोर गुटको लोकप्रिय उम्मेदवारबीच टकराव हुने अवस्था देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप