शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख–प्रतिपक्ष टकराव : एमाले गल्ला कि सभामुख ?

सोमबार, २८ भदौ २०७८, १२ : १६
सोमबार, २८ भदौ २०७८

सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि निकास खोज्न सभामुखले सर्वदलीय बैठक बोलाएका छन् । आज सोमबार अपरान्ह बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका प्रमुख नेताहरु सहभागी हुँदैछन् । तर, सभामुख अग्नि सापकोटाले बोलाएको यो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गर्ने जनाइसकेको छ । यद्यपी प्रमुख प्रतिपक्षको लगातारको संसद अवरोध हटाउन सभामुखले थालेको यो सम्वादको प्रयासलाई सकारात्मक रुपमा लिइएको छ । तर, एमालेकै अनुपस्थितिमा हुने उक्त छलफलले निकास दिनेमा भने विश्वास गर्ने आधारहरू कमजोर हुँदै गएका छन् । यतिसम्मकी नेकपा एकीकृत समाजवादी पार्टी सहभागी कुनैपनि बैठकमा सहभागी नहुने एमालेले नयाँ सर्त अघ सारेको छ ।

यसबाट ओली कुनैपनि विधि विधान र कसैले गरेको सहमति मान्ने पक्षमा नहुनुका साथै अरु पार्टीको अस्तित्व समेत स्वीकार गर्न तयार छैनन् भन्ने पुष्टि हुन्छ । त्यति मात्रै होइन, ओली स्वयं र उनको पार्टीले अघि सारेका माग पुरा हुनसक्ने किसिमकै छैनन् । जानकारहरुका अनुसार एमाले अध्यक्ष ओली र उनको पार्टीले सभामुख नै नमान्ने र अर्को पार्टीका सांसद बैठकमा उपस्थित हुनै नहुने जस्ता मागले समस्याको समाधान भन्दा पनि गिजोल्ने काम गर्छ । किनभने एमालेले भनेजस्तो माधव नेपाल सहितका १४ सांसद कारवाहीको सूचना निकाल्नुपर्ने बाध्यकारी व्यवस्था सभामुखलाई छैन । यस विषयमा सभामुखले स्वविवेकले निर्णय गर्न पाउने संसदीय अभ्यास रहँदै आएको छ । त्यही आधारमा सभामुखले सूचना टाँस गरेनन् । त्योभन्दा अघि नै नेता नेपालसहितका नेताहरुले अध्यादेश अनुसार नयाँ पार्टी दर्ता गरेर निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।

अर्कोतिर सोही विषयमा अदालतमा परेको रिट विचाराधीन छ । गत भदौ २३ बाट सुरु भएको संसदको नवौं अधिवेशन अन्तर्गतका बैठकमा एमालेले पार्टीबाट निर्वाचित १४ सांसदलाई गरेको कारवाहीको सूचना नटाँसेर आफुविरुद्ध अन्याय गरेको दाबी गर्दै आएको छ । सोही कारण भदौ २३, २५ र २७ गते बसेका बैठकमा एमाले सांसदहरुले बेल घेर्न देखि नाराबाजी गरेर बैठकमा अवरुद्ध गर्ने प्रयास गरिरहेका छन् ।

यस्तो अवस्थामा कि त एमालेले उक्त मागबाट पछि हट्नुपर्ने हुन्छ कि सभामुखले सूचना टाँस्नुपर्ने हुन्छ । त्यसका लागि एक पक्ष गल्नुपर्ने हुन्छ । अहिले खासमा सभामुखले प्रमुख प्रतिपक्षलाई गलाउने कि एमालेले सभामुखलाई भन्ने देखिएको छ । किनभने सभामुख सापकोटाप्रति एमाले अध्यक्ष समेत रहेका केपी ओली सुरुबाटै सकारात्मक हुन सकेका छैनन् ।

पूर्व सभामुख कृष्णबहादुर महराका पालादेखि नै सभामुखप्रति असहिष्णु व्यवहार गर्दै आएका ओली कुनै हालतमा सभामुख फेर्न चाहान्छन् । तर ओलीको यो चाहाना पुरा हुन नदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसमा सहमत छैनन् । अहिले पनि दुवै पक्ष सोही अडानमा छन् । एमाले सांसदहरुले संसद अवरोध गर्दा सभामुख सापकोटाले आफु नियम, कानुन र संविधान अनुसार नै अघि बढिरहेको बताइरहेका छन् ।

सभामुखले क्षमायाचना गर्लान् ?
एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङले आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूलाई सभामुख सापकोटाले पुनः सुचना टाँस गरेमात्र संसद बैठक सहज सञ्चालन गर्न वातावरण बन्ने प्रतिक्रिया दिए । जबकी सभामुखले यसअघि नै उक्त विषयमा कुनै सूचना टाँस गर्नुपर्ने अवस्था नरहेको बताइसकेका छन् । तर नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराई कि सभामुखले सूचना टाँस गर्नुपर्ने कि सभामुखले गल्ती स्वीकार गरेर सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने बताउँछन् । ‘ सभामुखले कि सूचना टाँस गनुपर्यो कि सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्यो’, भट्टराईको भनाइ छ ।

नेकपा एमालेले १ भदौ मा माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको जानकारी संसद्लाई दिएको थियो । त्यसको १३ दिनपछि सभामुखले ती सांसद अर्कै दलमा गएकाले कारवाही गर्न नपर्ने निर्णय गरेका थिए । तर यसमा सभामुखले बदनियत राखेर पार्टी फुटाएको सार्वजनिक रुपमै एमालेले आरोप लगाउदै आएको छ । एमाले सांसदले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै पुगेर तत्काल सूचना टाँस्न दबाबसमेत दिएका थिए । त्यसबेला सभामुख सापकोटा र एमाले सांसदबीच भनाभन नै परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप