शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको सत्ता परिवर्तनका लागि गठबन्धन गृहकार्यमा

सोमबार, २८ भदौ २०७८, १० : ४५
सोमबार, २८ भदौ २०७८

बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।

नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो ।

मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लगायतका सत्ता परिवर्तनको दलहरूको गृहकार्य सुरु गरेका हुन् ।

निर्वाचन आयोगको पत्र दर्ता हुनासाथ आइतबार नै संसद् सचिवालयले नेकपा एकीकृत समाजवादीलाई दलको कार्यालय उपलब्ध गराएको थियो भने उक्त कार्यालयमा सो पार्टीको पहिलो संसदीय बैठकसमेत बसेको थियो ।

बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्नुको साथै सरकारलाई समर्थन नरहेको निर्णय गरेको थियो ।

बैठक छि नेकपा नेकपा समाजवादीका सांसदहरुले सरकारलाई समर्थन नरहेको व्यहोरेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेश हेटौंडा, सभामुख सानुकुमार श्रेष्ठ र संसद् सचिवालयमा दर्ता गराएका थिए ।

नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशसभामा प्रवेश र सरकारलाई समर्थन नगर्ने सो दलको निर्णयसँगै बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

५६ सांसदका साथ नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त दलको तर्फबाट सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन पछि १३ जना सांसदले साथ छोड्दा ४३ सांसदमा सिमित भएकी छिन् ।

बागमती प्रदेशमा सरकारको नेतृत्वको लागि कुल १०९ जना सांसदमध्ये ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र जसपा निकटका १ जना सांसद् रहेका छन् ।

नेकपा समाजवादी संसदीय दलको बैठक बस्दै

नेकपा एकीकृत समाजवादी दलको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दैछ ।

सरकार र गठबन्धनका बारेमा छलफलका लागि बैठक बस्न लागेको बागमती प्रदेशसभा सदस्य एवम् नेकपा एसका नेता बसन्त मानन्धरले जानकारी दिए ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता गठबन्धन र आगामी रणनीतिका बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्ने भएको उनले बताए ।

उनले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेको र संसदबाट विश्वासको मत पनि पाउने अवस्था नरहेकोले सत्ताबाट राजीनामा दिनु पर्ने बताए ।

बागमती प्रदेश सरकारमा राजेन्द्र पाण्डेले दावी गरिसकेका कारण मुख्यमन्त्री शाक्यले गठबन्धनलाई सरकार गठनमा सघाउनु पर्ने बताए ।

काँग्रेस र माओवादीको संसदीय दल बैठक स्थगित

सत्ता गठबन्धनको दुई ठुला पार्टीको संसदीय दलको बैठक भने स्थगित भएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयमा प्रवेश पाएलगत्तै आज सोमबारका लागि आह्वान गरिएको बैठक विषेश कारण देखाउँदै  स्थगित गरिएको छ ।

सोमबार नेपाली काँग्रेस र नेकपा माओवादी दुवैले संसदीय दलको बैठक आह्वान गरेका थिए । तर सोमबार बिहान दुवै दलले विशेष कारण भन्दै बैठक स्थगित गरेका हुन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक बुद्धिमान माझीले केन्द्रीय नेतृत्वको आन्तरिक छलफल बाँकी नै रहेकाले दलको बैठक स्थगित गरेको बताए ।

शीर्ष नेताहरुको छलफलपछिको निर्णय पश्चात दलको बैठक बस्ने उनले बताए ।

यता नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले आन्तरिक छलफल र तयारीका लागि बैठक स्थगित गरेको बताए ।

सबै तयारी पुरा गरेर बैठक बोलाउने छलफल भइरहेको भन्दै मंगलबार दलको बैठक बस्न सक्ने सम्भावना रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप