आफ्नै कोठामा मृत भेटिएकी सीताको मृत्युबारे अझै खुलेन रहस्य, एक हप्तासम्म पनि उठेन शव

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको एक साता बित्दा पनि उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक गर्न सकेको छैन ।
४३ वर्षीय टीका पौड्यालकी पत्नी सीताको शव भदौ २० गते आफ्नै घरको कोठामा फेला परेको थियो । छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्षले आन्दोलनसमेत गरेका थिए । आन्दोलनको दबाबमा आत्महत्या दुरुसाहनको मुद्दा दायर भएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित दुई जनालाई नियन्त्रणमा लियो । अदालतमा म्याद थप गरि आरोपित दिदी र भाइलाई प्रहरीले हिरासतमा राखेको छ ।
घटना भएको एक सातासम्म पनि मृतकको शव उठ्न सकेको छैन् । आइतबार तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले भेट गर्न नदिएका कारण मणिग्राम चोकमा चक्काजाम गरिएको मृतकका मामा आकाश पोखरेलले जानकारी दिए । घटनालाई सामान्यीकरण गर्न खोजेको भन्दै मृतकका माईती पक्षले कहिले ईलाका प्रहरी कार्यालय, कहिले अदालत घेराउ गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।
माइती पक्षका अनुसार भदौ ६ गते तीज मान्ने गरी सीतालाई उनका पति टीकाले माइतीमा छोडेका थिए । तर भदौ १९ गते दिउँसो घरमा भतिजीको जन्मदिन मनाउने भन्दै सीतालाई फोन गरेर टीकाले घरमा बोलाएको माइती पक्षको भनाइ छ ।
पतिले बोलाएपछि सीता त्यसै दिन दिउँसो घर पुगिन् । अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ भनेर सीताको माइती पक्षलाई बोलाइयो, जतिबेला सीताको मृत्यु भइसकेको थियो । माइतीजनका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन् ।