मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी आएको बजेट सकारात्मक : चेम्बर

आइतबार, २७ भदौ २०७८, २१ : १४
आइतबार, २७ भदौ २०७८

नेपाल चेम्बर अफ कमर्सले सरकारले ल्याएको प्रतिस्थापन विधेयक स्वागतयोग्य भएको बताएको छ । चेम्बरले प्रस्तावित बजेटले कोभिड–१९ बाट प्रभावित बनेको अर्थतन्त्र चलायमान बन्ने बताएको छ । यस्तै, चालू खर्च कटौती गरेर कोभिडविरुद्धको खोप किन्ने बजेटको योजना सकारात्मक भएको बताइएको छ ।

कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं सङ्गठित क्षेत्रमा रहेको अति विपन्न गरिबलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य भएको चेम्बरको भनाई छ । यसैगरी, पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई चेम्बरले सकारात्मक रूपले लिएको छ ।

यसका साथै, कृषि  पशुबालीमा सरकारले दिएको प्राथमिकता समेत सकारात्मक भएको चेम्बरको भनाई छ । कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्‍याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्ने लक्ष्य बजेटको सकारात्मक रहेको बताइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमुनाको रूपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समूहहरूको संयन्त्र निर्माण गरी कार्यान्वयन गर्ने प्रबन्ध मिलाउँदा कृषि उत्पादन बढ्ने अनुमान चेम्बरले गरेको छ ।

यसका अतिरिक्त २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पुरै र यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिई लगानीको लागि आकर्षित गर्ने व्यवस्था गरिएकोमा चेम्बरले सकारात्मक रूपले लिएको छ । यस्तै, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक भएको बताइएको छ ।

यद्यपी, बजेटमा लिएको ७ प्रतिशतको आर्थिक वृद्धि भने चूनौतीपूर्ण हुने चेम्बरले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप