बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अल्पकालीन रोजगार कार्यक्रम शुरु, एकैदिन ७५० बढीले पाए रोजगारी

आइतबार, २७ भदौ २०७८, २० : ४६
आइतबार, २७ भदौ २०७८

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) परियोजना शुरु भएको छ ।  उक्त परियोजना अन्र्तगत पहिलो दिन आइतबार काठमाण्डौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा एक सय जना, चन्द्रागिरिको मातातीर्थमा एकसय जना र शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई एकसाथ काममा लगाएको छ । 

यस्तै होटल एशोसिएशन नेपाल (हान) सँगको सहकार्यमा ४० जना बढीले काम शुरु गरेका छन् । जसअनुसार आइतबारमात्र करिब तीन सय बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् । यस्तै परियोजना अन्तर्गत काठमाडौं कै कीर्तिपुर र काठमाडौं बाहिरका पर्वतको जलजला, संखुवासभाको चिचिलामा गरी करिब २ सय ५० जना श्रमिकहरु काममा आबद्ध भएको परियोजनाले जानकारी दिएको छ । 

परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाडौंको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपुरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखोलढुङगामा एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनरुउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ । 

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ ।  विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्याइने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (र्याफ्टिङ) गरिने नदी, ट्रेकिङ, ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए । 

चन्द्रागिरीमा आयोजित कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछाने लगायतले काम शुभारम्भ गराएका छन् । 

मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाई, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापना तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन (मेन डेज) बराबरको रोजगारी प्रदान गरिने लक्ष्यअनुरुप काम शुरु गरिएको संयोजक लामिछानेले जानकारी दिए । आउँदा दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ–संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको समेत लामिछानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप