शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेश जाने ‘म्यानपावर खर्च’ उठाउन अस्पतालमा बम !

आइतबार, २७ भदौ २०७८, १६ : ०१
आइतबार, २७ भदौ २०७८

काठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मर बहादुर रोका मगर छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो । 

प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् । १ महिनाअघि आशिष मातृका आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए । त्यहाँ आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए । दाजुभाइ फुटुङमा बस्थे । उनीहरू विदेश जाने तयारीमा थिए । म्यानपावरमा १७ लाख खर्च भैसकेको थियो । तर, ‘भिसा आउँदै छ’ भनेर म्यानपावरले अल्झाइरहेको थियो । 

शनिवार प्रहरीले पक्राउ गरेपछि आशिषले भनेका छन्–‘अस्पताल चलेको देखेर पैसा आउँछ भन्ने सोच आएका थियो । अनि, बम राख्ने योजना बनाएँ ।’ बम राखेर अस्पताल सञ्चालक डा.किशोर प्रधानसँग उनीहरूले फिरौती मागेका थिए । 

​‘आरोपीहरूले अस्पताल सञ्चालकसँग ३ करोड फिरौती मागेका थिए’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीसँग भने । ‘म्यानपावर खर्च’ उठाउने सोचले आशिषले युट्युब हेरेर बम बनाउन सिके । असार २३ मा युट्युब हेरेर बम बनाउन सिकेपछि उनले ४ हजार ६ सय पर्ने मोबाइल किनेका थिए । ‘धम्की’ दिन नयाँ बजारबाट एनसेल र स्मार्टका ३ वटा सिमकार्ड किनेपछि आशिष् र अभिषेकले बम बनाए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘ट्याक्सीमा टाइम बम लिएर गएर अस्पतालको तेस्रो तलमा राखेर फर्केको खुलेको छ ।’ 

टाईम बम राखेपछि आशिषका दाजुभाइले आँखा अस्पतालमा एक कर्मचारीलाई फोन गरेर अस्पतालको शौचालयमा बम भएको सुचना दिएका थिए । त्यसपछि उनीहरूले डा. प्रधानसँग पैसाको बार्गेनिङ गर्न थाले । 

चार ठाउँमा बम राखेको र पैसा नदिए परिवारलाई नै सिध्याउँछौं भनेर धम्की दिए । १ करोड ७५ लाख लेनदेन गर्ने गरी अम्मर बहादुर रोकाले बार्गेनिङ गरे । फुटुङमा कुँवर दाजुभाइ र अम्बरको डेरा सँगै छ । फिरौती लिएर ‘नागढुंगा कटेर आउनु’ भनेपछि आशिष् र अम्बर फुटुङबाट निस्किए । अनि, प्रहरीले उनीहरूलाई पक्रियो । पक्राउ परेपछि उनीहरूले प्रहरीसँग भनेका छन्–‘आर्थिक अवस्थाको कारण थर्काएपछि पैसा आउँछ भनेर बम राखेका हौँ ।’ आषिशका भाइ अभिषेकलाई धादिङबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूमाथि ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप