शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्नेमा माधव नेपालको जोड

आइतबार, २७ भदौ २०७८, २० : ००
आइतबार, २७ भदौ २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले  नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसारवाद, व्यक्तिवादमा फस्ने गरेको भन्दै कम्युनिस्ट पार्टीहरुले आफ्नो व्यवहार, शैली र आचरण बदल्नुको विकल्प नभएको बताए ।

‘नेपालका कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सहि र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।  

उनले विश्वका कम्युनिस्ट पार्टीहरूको उदाहरण दिदै चुनावदेखि चुनावसम्म समस्या भन्ने सोच विकास भएको भन्दै समस्या त्यही भएको बताए । ‘जनतादेखि जनतासम्म भन्नुपर्छ । जनताकोमा पुग्न सक्नुपर्छ’, नेता नेपालको भनाइ छ ।

उनले समाज परिवर्तन गर्न राजनीतिक पार्टीहरूको भूमिका महत्वपुर्ण हुने भन्दै यसबारे नेताहरुबीच राम्ररी मन्थन गर्न जरुरी रहेको समेत बताए ।

‘नेपाली समाजमा शोषण,विभेद र छुवाछुतको समस्या कायमै रहेको छ । सिद्धान्त र संगठनका धेरै ठुला कुरा गरेपनि हाम्रो संगठन कति परिचालित भएको छ ? सोच र संस्कारमा कति परिवर्तन भएको छ ? विभिन्न विभेद अन्त्य गर्न हामी कति लागेका छौ ?’, नेता नेपालको प्रश्न छ ।

उनले हिजोका सुदखोरहरु नयाँ ढंगले जुटेको भन्दै कम्युनिस्ट पार्टीहरुले समाज परिवर्तन गरेमात्रै उपादेयता रहने बताए । ‘समाजमा नयाँ ढंगले अघि बढ्नुपर्दछ । जनताको प्यारो पार्टी हाम्रो हो, हामीले जनताको मन जित्ने कसरी ? पुष्पलालले जसरी स्थितिको विश्लेषण गरेर जनतासँग जोडिए त्यसरी ध्यान दिन सके देशभक्त पार्टी ठहर्छ’, नेता नेपालको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्की ‘पार्थ’ले पुस्तकमाथि टिप्पणी गर्दै अहिलेको सिस्टमबारे पुस्तकमा चर्चा गरिएको बताए । नेपाली समाज पुँजीवादमा पुगेको पुस्तकमा चर्चा गरेपनि लेनिन र माओलाई इन्कार गरेर अघि बढ्न नसक्ने चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप