बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सडकको किनारमा जुत्ता सिलाउनेहरुका व्यथा

आइतबार, २७ भदौ २०७८, १२ : ४४
आइतबार, २७ भदौ २०७८

कर्णाली प्रदेशको राजधानीकै मुख्य प्रवेशद्वार हो सुर्खेतको मंगलगढी चोक । चोकबाट दैनिक हजारौं सवारी साधन, नागरिक दैलेख, जुम्ला र नेपालगञ्ज आवतजावत गरिरहन्छन् । चोकको बायाँ किनारामा छाताको ओत लागेर तीनचार जना लस्करै बसेका भेटिन्छन् । उनीहरुको काम फाटेका जुत्ता, चप्पल सिलाउने हो ।

चाहे वर्षा याम होस् वा हिउँदको कठ्याङ्ग्रिने जाडो र वैशाख–जेठको प्रचण्ड गर्मी । तीनैवटा सिजनमा प्रकृतिसँगै संघर्ष गरेर एक दशकदेखि सडक किनारमा बसेर उनीहरुले फाटेका जुत्ता, चप्पल सिलाएर आफ्नो जहान परिवार पाल्दै आएका छन् । तिनैमध्येका एक हुन्– वीरेन्द्रनगगर, तातोपानीका ७० वर्षीय नरबहादुर बयलकोटी ।

साविकको दैलेख कुशापानी गाविस (हाल भैरवी गाउँपालिका) निवासी नरबहादुर दैलेखमा रोजगारी नहुँदा जहान परिवारलाई पाल्न थातथलो छोडेर सुर्खेत आएका हुन् । गरीबीबाट उन्मुक्ति पाउन सुर्खेत झरेका उनी घरले जा–जा र वनले आइज–आइज भन्ने बेलासम्म गरिबीसँगै लडिरहेका छन् ।

उनी भन्छन्, ‘मेरा बालापनका कयौं साथी यो उमेरमा घरको बार्दलीमा बसेर नातिनातिनी हेरचाह गरिरहेका छन् । तर, म बुढोले घाम, पानी, धुलो, धुवाँ नभनेर चाहुरिएका छालाले जुत्ता, चप्पल सिलाउनु परेको छ । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे आए पनि हुने खानेका लागिमात्र आएको रहेछ ।’

जनताका प्रतिनिधिहरू, सरकारका उच्च पदाधिकारीहरु चिल्ला कारमा यही बाटो ओहोर–दोहोर गर्छन् तर आफूहरुको समस्या र दुःखलाई कसैले पनि वास्ता नगरेको उनको गुनासो छ । उनी प्रश्न गर्छन्, ‘खोइ ! गरिबको लागि सरकार कहाँ छ ?’

नरबहादुर जुत्ता, चप्पल सिलाएर दैनिक सरदर ५ सय कमाउँछन् । त्यही कमाइबाट जहान परिवारले बिहान बेलुका छाक टार्ने गरेको उनले सुनाए । केही समय पहिला एउटा एनजीओले दिएको तालिमबाट आफूले सिलाई सम्बन्धी काम गरे पनि सामान र व्यवस्थित ठाउँको अभावमा आफूहरु जहाँको त्यहीँ रहेको उनले बताए ।

जुत्ता, चप्पल सिलाउन ल्याएका एक ग्राहकले उनलाई प्रदेश सरकारले सीप प्रवर्द्धनका लागि कार्यक्रम बनाएको कुरा सुनाए तर त्यो कार्यक्रम कस्तो हो र त्यसले आफूहरुलाई छुन्छ कि छुँदैन भन्ने पनि उनले पत्तो पाउन सकेका छैनन् । आजसम्म सरकारीस्तरबाट कुनै त्यस्तो कार्यक्रमले आफूहरुलाई छुन नसकेको उनको भनाइ छ । ‘टाठाबाठाले नै पाउने त होलान्,’ उनले भने, ‘हामीलाई दया गरेर दिने को होला र ?’

बेला बेलामा मंगलगढी चोकमा राजनीतिक दलका आमसभा, नाराजुलुस भइरहन्छन् । त्यस्ता कार्यक्रममा गरिब र दलितका लागि भनेर कतिपयले आवाज उठाएको पनि उनले सुनेका छन् । तर आफूले सुनेका भाषणजस्तो व्यवहारमा कहिल्यै कुनै उपलब्धि नदेखेको उनले बताए । ‘सबै भाषण गर्नेमात्र हुन्,’ उनले भने, ‘देखाउने हामीलाई, खानेचाहिँ उनीहरु आफैले भ्याउँछन्, त्यसैले पनि नेपालको राजनीति बिग्रिएको हो । अब त कसैको भर लाग्दैन ।’

कोरोनाभाइरस (कोभिड–१९) महामारीका क्रममा महिनौं लकडाउन हुँदा आफूहरुलाई दुई छाक टार्न निकै सकस परेको उनले सुनाए । ‘अघिपछि त दिनमा चार पाँचसय कमाई हुन्थ्यो, लकडाउन हुँदा कति दिन त हामी भोकै बस्यौँ,’ उनले भने, ‘हामीकहाँ रोगभन्दा पहिला भोक आयो, रोगले भन्दा बढी भोकले सतायो ।’

नरबहादुरजस्तै अन्य ७/८ जना यसरी नै दैनिक जुत्ता, चप्पल सिलाएर गुजारा गर्दै आएका छन् । कहिलेकाहीँ नगरपालिकाले आफूहरुलाई दुःख दिने गरेको उनीहरुको गुनासो छ । नगरपालिकाका मान्छे आएर आफूहरुको सामान उठाएर लैजाने गरेको र फुटपाथमा नबस्ने शर्तमा पाँच सय रुपैयाँ लिएर सामान फिर्ता दिने गरेको उनीहरुको भनाइ छ ।

आफूहरु भोको बसेको नदेख्ने, चुलो बलेको छ कि छैन भनेर कहिल्यै नहेर्ने तर परिवार पाल्नका लागि घाम पानी नभनी सडक छेउ बसेर जुत्ता, चप्पल सिलाउँदा सामान उठाउन आउने व्यवस्था गरिबका लागि उपयुक्त नभएको उनीहरुको भनाइ छ ।

आफूहरुले राजनीतिक व्यवस्थाहरु परिवर्तन भएको देखे पनि आफ्नो दिलमा घाम लाग्ने व्यवस्था अझै अनुभूति गर्न नसकेको उनीहरुको भनाइ छ ।

‘सरकारले हामीलाई उचित ठाउँमा राखोस् ! काम गरि खानका लागि व्यवस्थित ठाउँ दिए हामी त्यहाँ जान्छौं, पेट भर्नका लागि दुःख गर्छौं,’ जुत्ता, चप्पल सिलाउँदै आएका  भद्रबहादुर कट्टेलले भने, ‘यो पेसाबाट घर खर्च चलाउन केही सहयोग पुगेको छ । आफूले जानेको काम भनेकै यही हो, यो काम गर्न नपाए कसरी परिवारको गुजारा चलाउनु ?’

केही वर्ष अगाडि आफूले छोराछोरी पढाउनका लागि सहकारीबाट ऋण लिएको भन्दै उनले सो ऋण अझै चुक्ता गर्न नसकेको बताए । जुत्ता, चप्पल सिलाएर ८ जनाको परिवार पाल्दै आएको उनले सुनाए ।

उनीहरुलाई बुढेसकालामा हाडछाला घोट्नु परेकोमा चिन्ता छैन । सन्तानको भविष्य उज्ज्वल हुन्छ भन्ने आशमा उनीहरुले दुःखलाई सहजै स्वीकार गर्दै आएका छन् ।

‘हामीले अहिले दुःख गर्दा हाम्रा छोराछोरीले पढ्न पाउँछन्, उनीहरुको भविष्य राम्रो हुन्छ कि भन्ने लागेको छ,’ भद्रबहादुर भन्छन्, ‘हामीले दुःख गर्दा छोराछोरीको भविष्य सहज हुन्छ कि भन्ने आशले पनि हामीलाई यो उमेरमा ठुलो ऊर्जा मिलेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप