बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिवरात्रीमा ‘लप्पन छप्पन २’ रिलिज हुने

आइतबार, २७ भदौ २०७८, ११ : २९
आइतबार, २७ भदौ २०७८

दशैं अगाडि फिल्म हल खुल्ने भएपछि निर्माण भएर प्रदर्शन हुन नपाएका फिल्महरूले धमाधम आफ्नो रिलिज मिति तोक्न थालेका छन् । यस्तैमा फिल्म ‘लप्पन छप्पन २’ पनि आगामी महाशिवरात्री अर्थात १३ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्देशन मुकुन्द भट्टले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति फेरि घोषणा गरेका हुन् ।

‘कोरोनाका कारण हामीले ‘लप्पन छप्पन २’ पहिले निर्धारित मितिमा रिलिज गर्न सकेनौं’ भट्टले अगाडि लेखेका छन्– ‘अब हामीले आउँदो फागुन १३ गते महाशिवरात्रीको अवसर पारेर रिलिज गर्ने योजना रहेको छ ।’
पहिलो पटक २०७६ को महाशिवरात्री रिलिज मिति तोकेको फिल्म कोरोनाको कारण सो समय रिलिज हुन सकेको थिएन । कोरोना महामारी सुरु भएपछि रिलिज अन्योल बनेको फिल्मले फेरि गत चैत २७ गते प्रदर्शन मिति तोकेको थियो । सो समय पनि कोरोनाको दोस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन ।

फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री,सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय रहेको छ । सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल छन् ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् । फिल्म एक्सन जनरामा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप