नीतिकथा : चन्द्रमाको घमण्ड
कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त कुनै सुन्दर व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्थ्यो तर जति सुन्दर थिए त्यति नै थिए घमण्डी र अहङ्कारी पनि । आफूबाहेक सबै नराम्रो ठान्ने उनको बानी थियो । झन् कुनै नराम्रो मानिस देख्यो भने यति बढी उत्ताउलो बन्थे कि, कि गिज्याएर बसिनसक्नु बनाउँथे कि हाँसेर उडाउँथे । सुन्दरता अनुहारमा होइन स्वभावमा हुन्छ भन्ने उनलाई थाहा नभएको होइन । तैपनि उनी त्यतातिर ध्यानै दिँदैन थिए ।
समय बित्दै गयो । कैलाश पर्वतमा माता पार्वतीलाई अद्भुत पुत्रलाभ भयो । बालकको शरीर मानिसको थियो, टाउको हात्तीको । यस्तो बालक यस अघि कतै जन्मेकै थिएन । अद्भुत बालक जन्मेकाले माता पार्वतीले देवीदेवतालाई देखाउन चाहिन् र न्वारनमा सबैलाई निम्तो पठाइन् । गुरु–पुरोहितले बालकको नामकरण संस्कार पूरा गरी ‘गणेश’ नाम राखे । न्वारन सकियो देवीदेवताहरू एकएक गरी प्रसूतिगृहमा आउँदै बालकलाई आशीर्वाद दिँदै गर्न थाले तर चन्द्रमाले भने आशीर्वादको बदला आफ्नो स्वभाव अनुसार हाँसेर गिज्याउने काम गरे । अलिकति अस्वाभाविक देख्ने बित्तिकै गिज्याउने उनको बानी थियो । त्यसमाथि गौरीपुत्र गणेशको अनुहार थियो त्यस्तै । किन खपिखानु हुन्थ्यो र ।
उनी बालक नराम्रो देखेर हाँसेका हुन् भन्ने सबैलाई थाहा थियो । तैपनि कसैले केही भनेनन् । स्वयं माता पार्वतीले समेत पाहुनालाई अपमान गर्नु अनुचित ठानेर थाहा नपाए जस्तो गरिन् तर स्वयं बालक गणेश भने चुप रहन सकेनन् र मनमनै ‘नाथे रूपको त्यति ठूलो घमण्ड ? भन्दै तिम्रो शरीर यति बढी कुरूप र कलङ्कित होस् कि कसैले पनि हेर्न लायक नहोस्’ भन्ने श्राप दिए । गणेशको श्राप न हो किन खेर जान्थ्यो र । हेर्दाहेर्दै उनी यति बढी कुरूप देखिन थाले कि कसैले पनि हेर्न उपयुक्त ठानेनन् । देख्ने बित्तिकै कि परपर हुन थाले । कि आँखा छोप्न लागे ।
त्यसपछि चन्द्रमा निकै दुखित भए । सबैले घृणा गर्न थालेपछि उनलाई असह्य भयो र मानसरोवरमा गएर कमलको फूलमा लुकेर बसे । लुकेर त बसे तर यसरी कति दिन चल्थ्यो र । एक दिन होइन दुई दिन होइन । चिन्ता बढ्दै गयो शरीर सुक्दै जान थाल्यो । बिचरालाई न किन यति बढी कुरूप भइयो भन्ने थाहा थियो न त्यसबाट कसरी मुक्ति पाउने भन्ने कुरा नै । आफ्नो जीवनदेखि नै वैराग्य लागेर आयो र ब्रह्माजीको स्तुतिबिन्ती गर्न लागे । उनको पुकारा सुनेर खुसी भएका ब्रह्माजीले उनी समक्ष आएर भने–
‘बाबु चन्द्र ! दुखित देखिन्छौ नि ? भन के प¥यो त्यस्तो ?’
ब्रह्माजीको कुरा सुनेर चन्द्रमालाई सासै आए जस्तो भयो । उनले भावुक हुँदै भने–
‘ब्रह्मदेव ! हजुरले देख्नुभएकै छ कति बढी कुरूप भएको छु । देवीदेवता कोही पनि मेरो अघि पर्न चाहँदैनन् । मुख हेर्नसम्म पनि अशुभ ठान्छन् र परपर हुन्छन् । किन यस्तो भएँ ? न त्यसको कारण थाहा छ न यसबाट मुक्त हुने तरिका नै । त्यसैले हजुरको आराधना गरेको हुँ । मिल्छ भने पहिलेको जस्तै बनाइदिन आग्रह गर्छु । होइन मेरो भाग्य नै यस्तै हो भने बाँच्नुको अर्थ छैन । अहिले नै शरीर त्याग गरी संसारबाटै बिदा हुन चाहन्छु ।’
‘बाबु चन्द्र ! एकैचोटि यति बढी आत्तिनु राम्रो होइन । सान्त्वनाभरि वाक्यमा ब्रह्माजीले भने–
‘संसार कारण र कार्यको खेल हो । यसैले नै चलेको छ । कारणबिना न कार्य हुन्छ न कार्यबिना कारणकै जन्म हुन्छ । कारण भएपछि कार्य हुन्छ अनि सोही कार्य नै अर्को कार्यको कारण बन्छ । हो, तिमी यतिबेला समस्यामा परेका छौं तर यसको पनि समाधान नभएको होेइन, खोज्नुपर्छ भेटिन्छ । समाधान नभएको समस्या नै हुँदैन । यो बुझ समस्याभित्र नै समाधान पनि हुन्छ ।
तिमीलाई गौरीपुत्र गणेशको श्राप परेको छ । तिमीले गणेशको दर्शन गर्दा कुरूप ठानी हाँसेर गिज्याएका थियौ । त्यसैको फल पाएका हो ।
हाँस्नु नराम्रो होइन हाँस्नुपर्छ । स्वास्थ्यका लागि पनि हास्नु राम्रो हो तर त्यसको पनि तरिका र समय हुन्छ । त्यही खाना समय उपयुक्त भए अमृत बन्छ नभए बिष । यहाँ पनि भएको त्यस्तै हो । त्यतिबेला शुभ बेलामा अशुभ नहोस् भनेर अरू नबोलेका भए पनि गणेशजी चुप लाग्न सकेनन् र चाँडै रूपको घमण्ड समाप्त होस् भन्ने श्राप दिएका थिए, जुन कुरा तिमीले थाहा नपाएका भए पनि श्रापले थाहा नपाउने भन्ने हुँदैन । अब यसबाट छुट्कारा पाउन उनकै शरणमा जानुको विकल्प छैन । दयालु छन्, उपकारी छन्, पक्कै माफी दिनेछन् ।’
यति भनेर ब्रह्माजी अन्तरध्यान भए । चन्द्रमा गणेशको पूजा उपासनातिर लागे । नभन्दै उनको उपासनाबाट सन्तुष्ट भएका गणेशजीले आफैँ आएर भने–
‘चन्द्रदेव ! तिमीले जुन घमण्ड देखाएका थियौ त्यसैको फल पायौ । बुझ अब दुःखको दिन सकिए, भन के चाहन्छौ ?’
गणेशको कुरा सुनेर चन्द्रमाले माफी माग्दै पहिलेको जस्तै बनाइदिन आग्रह गरे । गणेशजीले पनि तथास्तु भन्दै पहिलेको जस्तै मात्र बनाएनन् जसले आजको दिन मेरो पूजा उपासना गर्नेछ उसको कल्याण हुनेछ भन्ने आशीर्वाद दिए ।
त्यो दिन भदौ महिनाको शुक्लपक्षको चतुर्थी तिथि परेको थियो, जुन तिथि तीजको भोलिपल्ट पर्छ । त्यसै बेलादेखि यो दिन गणेश चतुर्थीको नामले चिनिन थालेको हो र त्यसैको सम्झनामा मानिसहरूले गणेशको पूजा उपासना गर्ने गरेका हुन्, जुन अद्यावधि कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान