शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चितवनमा घट्दै कोरोना सङ्क्रमण

आइतबार, २७ भदौ २०७८, १० : ३४
आइतबार, २७ भदौ २०७८

साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमण दर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको  थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुग्दा यो सङ्ख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।  साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उनका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताए । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।

कङ्काल भेटियो

पश्चिम चितवनका एक व्यक्तिको कङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार कङ्काल भेटिएको हो । उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप