बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका विद्यालयहरूले आजबाट भौतिक उपस्थितिमा पठनपाठन गर्ने

आइतबार, २७ भदौ २०७८, ०९ : २०
आइतबार, २७ भदौ २०७८

कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरूले आज (आइतबार)बाट भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरूले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सक्ने निर्णय गरेसँगै भौतिक उपस्थितिमा विद्यालयहरू सञ्चालन हुने भएका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहका सबै शिक्षण संस्थाहरू आजबाट भौतिक उपस्थितिमा खुल्ने छन् । अन्य स्थानीय तहको तुलनामा विद्यार्थीहरूको सङ्ख्या पनि बढी रहेकाले जोखिम पनि उस्तै रहेको हेटौँडा उपमहानगरपालिकामा पनि भौतिक उपस्थितिमा आजबाट पठनपाठन सञ्चालन गरिने भएको छ । 

हेटौँडा उपमहानगरपालिका भित्र ७७ वटा सामुदायिक विद्यालय र ४६ वटा निजी विद्यालय रहेका छन् । उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा पेस गर्न उपमहानगरका विद्यालयहरूलाई निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार करिब ७५ प्रतिशत विद्यालयले मात्र कार्य ढाँचा पेस गरेको हेटौँडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाले जानकारी दिए ।

उपमहानगर भित्रकै पनि २५ प्रतिशत विद्यालयले कार्य ढाँचा पेस नगरेको हेटौँडा उपमहानगरपालिकाका शिक्षा अधिकृत खड्काले बताए । कार्य ढाँचा पेस गरेका विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आउने हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताए । 

भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्दा विद्यालय र शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता र स्वास्थ्य सुरक्षाका मापदण्ड निर्माण गरी एक हप्ताभित्र कार्य ढाँचा पेस गर्न आग्रह गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणको रोकथामका लागि बन्द गरिएका तथा क्वारेनटिन वा आइसोलेसन सेन्टरको रूपमा प्रयोग गरिँदै आएको विद्यालयहरूको सञ्चालनका प्रक्रियागत विषयमा प्रष्ट मार्ग निर्देशित गर्ने उद्देश्यले कार्य ढाँचा पेस गर्न पालिकाहरूले अनुरोध गरेका थिए ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये गत आइतबारदेखि बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ सुरु भइसकेको छ । मकवानपुरमा सामुदायिक र निजी गरी कुल ४ सय ९९ विद्यालय रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप