बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको चेतावनी : संसदमा अप्रिय घटना भए त्यसको जिम्मा सभामुख र सत्तापक्षले लिनुपर्छ

शनिबार, २६ भदौ २०७८, १९ : ०६
शनिबार, २६ भदौ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको छ । साथै सो पार्टीले भोलि संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ । 

शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताए । उनले सत्तापक्ष एकलौटी ढंगले जान खोजेको र सभामुखले निष्पक्ष भूमिका निर्वाह गरेर नगएकाले भोलि त्यसले संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए । ‘परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको छ ।

भोलि संसदमा कुनै अप्रिय घटना भयो भने त्यो सभामुख र सत्तापक्षले जिम्मेवारी लिनुपर्छ’ एमालेको चेतावनी छ । सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएकोमा पनि एमालेले आपत्ति जनाएको छ ।  एमाले नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको भनाइ छ । 

एमालेले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको हो । ‘सरकारको तर्फबाट प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्ने काम भयो । यो असंसदीय काम भयो र सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ, शनिबारको स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ र विगतका सरकारले ल्याएका लोकप्रिय कार्यक्रम कटौती गरिएको छ’ एमाले सचिव योगेश भट्टराईले भने ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय कार्यक्रमलाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’  त्यस्तै एमालेले सभामुखको निष्पक्ष भूमिका नभएको भन्दै लगातार विरोध गरिरहेको र संसदीय मूल्य मान्यताभित्र बसेर विरोध गर्न सांसदहरुको ध्यानाकर्षण गराएको छ । त्यसका लागि थप स्पष्ट पार्न सो पार्टीले आइतबार १२ बजे संसदीय दलको बैठक बोलाएको छ । 
त्यस्तै आम नागरिकले सडकमा गर्ने शान्तिपूर्ण प्रदर्शनमा सरकारको धरपकडको विरोध गर्दै प्रदर्शनमा सहभागी हुनेहरूलाई पनि शान्तिपूर्ण बनाउन पनि उक्त पार्टीले आव्हान गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप