बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोन्जालोलाई रिहा गर्न कम्युनिष्ट नेताहरुको आग्रह

शनिबार, २६ भदौ २०७८, १८ : ३२
शनिबार, २६ भदौ २०७८

नेपालका कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनको टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोन्जालोले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उनको रिहाइ गर्नुपर्ने बताए । उनले गोन्जालो गिरफ्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताए ।

उनले अध्यक्ष  गोन्जालोलाई रिहाइ गर्न अमेरिकी साम्राज्यवादको हात रहेको पनि बताए  । अध्यक्ष गजुरेलले भने, ‘उहाँ गिरफ्तार हुनु भनेको पेरुको क्रान्तिको लागि मात्रै नभइ विश्वको कम्युनिष्ट आन्दोलनको लागि अपूरणीय क्षति हो, उहाँको गिरफ्तारपछि विश्व कम्युनिष्ट आन्दोलनको धक्का खाएको अनुभव गरेको छु, उहाँको तत्काल रिहाइ हुनुपर्छ, उहाँलाई अमानवीय व्यवहार भइरहेको छ, यसमा सारा विश्वले विरोध गरिरहेको छ, हामीले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु गर्दा धेरै पेरुको कम्युनिष्ट पार्टीको डकुमेन्ट ल्याएर अध्ययन गरेका थियौँ ।’

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताए । अमेरिकी साम्राज्यवाद कमजोर भएमात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्ने बताए ।

सच्चा कम्युनिस्टहरूबीच ध्रुवीकरण भएमा समाजवादी व्यवस्थाको ढोका खोल्ने र गोञ्जालोको रिहाइ सम्भव हुने बताउँदै गुरुङले माओवादी केन्द्र त्यसको लागि तयार रहेको बताए ।

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले पनि गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग गरे । उनले गोञ्जालोको रिहाइको लागि आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिए । विभाग इन्चार्ज बास्तोलाले नेपाल भारत लगायत विश्वका क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन एमसीसी ल्याइएको भन्दै त्यसलाई रोक्न सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए ।

बास्तोलाले भने, ‘विश्वका मानव जातीको मुक्तिका लागि, क्रान्तिका लागि उहाँ पेरुको जेलमा हुनुहुन्छ, पेरुले तुरुन्त मानवीयताका आधारमा गोन्जालोलाई तुरुन्त रिहा गरोस् हामी माग गर्दछौँ, उहाँलाई गिरफ्तार गर्नका लागि अमेरिकी साम्राज्यवादले अत्यन्तै घिनलाग्दो गतिविधि गरेको छ, आजभन्दा २९ वर्षअघि उहाँलाई गिरफ्तार गरिएको थियो, हामी भोलि आईतवार काठमाडौंमा उहाँको रिहाइको लागि प्रदर्शन गर्नेछौँ ।’
त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वहारा क्रान्तिको हिरो भएकोले उनको तत्काल रिहाइ हुनुपर्ने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप