शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'हलमा फिल्म हेर्न नपाएर दर्शक छटपटिएका छन्'

राम्रो कन्टेन्ट दिन सकिएन भने हल खोल्नुको अर्थ छैन : मधुसुदन प्रधान
शनिबार, २६ भदौ २०७८, १५ : २४
शनिबार, २६ भदौ २०७८

काठमाडौँ । जिल्ला प्रशासनले उपत्यकाका फिल्म हलहरू ५० प्रतिशत अकुपेन्सीमा खोल्न निर्णय गरेको एक साता बित्न लाग्यो तर कुनै पनि फिल्म हल खुल्न सकेको छैन । प्रशासनको निर्णयले उत्साहित बनाएको प्रतिक्रिया दिएका फिल्म हल व्यवसायी प्रशासनको अव्यावहारिक निर्णय र आन्तरिक प्राविधिक समस्याले तत्काल हल खोल्न नसकेको बताउँछन् । उपत्यकामा मात्र होइन, देशभरका हल खोल्नुपर्ने उनीहरूको माग रहँदै आएको छ ।

फिल्म हल त खुल्ला तर के फिल्म रिलिज गर्ने, अहिलेको अवस्थामा निर्माताले नयाँ फिल्म दिन्छन् त भन्ने अर्काे समस्याको विषय हो । फिल्म हल खोल्ने र नयाँ फिल्म रिलिज गर्ने वातावरण मिलाउने उद्देश्यले चलचित्र सङ्घ (हल व्यवसायीको छाता सङ्गठन) अहिले दैनिक छलफलमा र भेटघाटमा जुटेको छ । कहिले हल खुल्छ र नयाँ फिल्म कसरी रिलिज हुन्छ भन्ने विषयमा केन्द्रित रहेर चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानसँग गरिएको छोटो कुराकानी ।

उपत्यकाका फिल्म हल खोल्ने दिने प्रशासनको निर्णय कस्तो लाग्यो ?

पछिल्लो समय कोरोनाको रेसियो केही घटेको र सबै क्षेत्र खुलिसकेका हुनाले प्रशासनले फिल्म हल खोल्न दिने निर्णय गरेको छ । यो स्वागतयोग्य कुरा हो । उपत्यकामा खुलेको आधारलाई लिएर देशभरका हल खोल्न दबाब दिन सक्छाँै भन्ने लागेको छ ।

फिल्म रिलिजका लागि उपत्यका मात्र खोलेर हुँदैन । उपत्यकामा मात्र खुल्दा कुनै पनि निर्माताले फिल्म रिलिज गर्दैनन् । हामीले पनि रिलिज गर भनेर भन्न मिल्दैन । किनभने उसको लगानीअनुसारको प्रतिफल पनि मिल्दैन । सेयरहरू पनि हामीले सन्तोषजनक दिन सक्दैनौँ । फिल्म रिलिजका लागि देशभरका हल खुल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अनुमति मिलेको एक साता बित्नलाग्दासमेत हल खुल्न सकेन किन ?

प्रशासनको निर्णयले हामी उत्साहित त छौँ । उपत्यकाका मात्र होइन देशभरका हल खोल्नुपर्छ भन्ने हाम्रो माग छ । त्यो मागका कारणले उपत्यकाका हल नखुलेका भन्ने होइन । हामी फिल्म हल खोल्ने तयारी गरिरहेका छौँ । खुल्न अझै केही साता लाग्न सक्छ । हामी दशैँसम्ममा सबैतिरका हल खोल्ने तयारीमा छौँ ।

तत्कालै उपत्यकाका फिल्म हल खोल्न किन सकिएन ?

हामीले नखोल्ने भनेर नखोलेका होइन । हामी खोल्ने कसरतमा छौँ । कुनै पनि व्यवसाय लामो समय बन्द भएपछि त्यसको सरसफाइदेखि सबै पक्ष पहिलेको अवस्थामा फर्काउन एक दुई साता लाग्छ नै । अहिले हामी त्यसको  तयारी गर्दैछौँ । प्रशासनले यो मितिबाट हल खुल्ने निर्णय हुन्छ भनेर पहिले नै जानकारी दिएको भए हामी तयारी अवस्थामा रहन्थ्याँै । हलका हाम्रा कतिपय स्टाफ खुल्ने अनिश्चित भएपछि गाउँ गएका छन् । उनीहरूलाई खबर गरेर फर्काउनुप¥यो । फिल्म हलको सरसफाइ, प्रोजेक्टरको चेकजाँच, सर्भर, विद्युत् लगायत सबै प्रविधि व्यवस्थापन मिलाउनु पर्यो । प्रशासनले निर्णय गर्यो भनेर गेटको ताल्चा खोलेर मात्र पुग्ने कुरो होइन नि ।

त्यसो भए फिल्म हल खुल्छ ?

हो, खुल्छ । सबै हलले खोल्नका लागि आन्तरिक तयारी गरिरहेका छन् । सङ्घका तर्फबाट पनि हामी के गर्ने, कसरी गर्ने भन्ने विषयमा नियमित बैठक, छलफलमा जुटिरहेका छौँ । हामी फिल्म निर्मातासँग पनि आजभोलि नै मिटिङ गरिहेका छौँ । चलचित्र विकास बोर्डसँग पनि नियमित छलफल भइरहेको छ । हामी फिल्म हल चलाउन जुटेका छौँ ।

अबको केही सातामा फिल्म हल खुल्छ त ?

निश्चय नै खुल्छ, त्यसमा दुई मत छैन । फिल्म हल खोल्दा देशभर एकसाथ खोल्नुपर्छ भन्ने माग हाम्रो रहिआएको छ । देशभर खुलेन भने राम्रो फिल्म रिलिज गर्न गाह्रो हुने सबैले बुझेकै विषय हो ।

फिल्म हल खोल्नु होला, दर्शक आउँलान् त ?

फिल्म हल खुले भने दर्शक आउँछन् । दर्शकलाई हलमा फिल्म हेर्दाको आनन्द अन्य तवरबाट कहाँ मिल्छ र । हलमा फिल्म हेर्न नपाएर दर्शक छटपटिरहेका हामीले बुझेका छौँ । बाटोमा भेटघाट हुँदा, विभिन्न कार्यक्रममा सहभागी हुँदा पनि यस्ता कुरा निस्किरहेका छन् । मलाई पहिलेको तुलनामा दर्शक झन् बढ्लान् जस्तो लाग्छ । किनभने कहिल्यै नेपाली फिल्म नहेर्ने मानिसले समेत यो लकडाउन, निषेधाज्ञामा नेपाली फिल्म हेरेको, फिल्मको स्तर बढेको चर्चा गरेको सुन्न पाइएको छ । यो लकडाउनमा धेरै दर्शकले फिल्मको फड्को थाहा पाउनुभएको छ । त्यसले उहाँहरूलाई हलसम्म पक्कै पनि डोर्याउँछ भन्ने मेरो बुझाइ हो । नेपाली फिल्म भन्ने वित्तिकै नाक खुम्च्याउनेले फिल्म हुेर्नु, नेपाली फिल्म राम्रो बन्न थालेछ भन्नु हाम्रा लागि सुखद हो । राम्रो कन्टेन्ट भएको फिल्म हामीले रिलिज गर्न पायौँ भने दर्शक बढेर आउँछन् भन्ने हाम्रो बुझाइ हो ।

५० प्रतिशत दर्शकले फिल्म हल र चलचित्र निर्माता खुसी होलान् त ?

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको मार्गनिर्देशनअनुसार फिल्म हललाई चलचित्र विकास बोर्डले एउटा गाइड लाइन दिएको छ । दर्शकको स्वास्थ्यको विषय भएकाले हामीले त्यो मान्नैपर्छ । हामी मान्छौँ पनि भनेका छौँ । हामीले राम्रोसँग व्यवस्थापन गर्न सकियो भने ७५ प्रतिशतसम्म राख्न अनुरोध गर्ने भन्ने हाम्रो सोच छ । सुरुवातका लागि यो ५० प्रतिशत ठिकै छ । सबैभन्दा ठूलो कुरो फिल्म हेर्न आउने हाम्रा दर्शकलाई हल सुरक्षित छ । फिल्म हेर्न मिल्छ भन्ने सन्देश हामीले दिनसक्नुपर्छ । अहिले तुरुन्तै भिडभाड गरेर फिल्म चलाउने पक्षमा पनि हामी छैनौँ । दर्शकको सुरक्षाको प्राथमिकता हाम्रो पहिलो दायित्व हो ।

अर्काे कुरो फिल्म हल खोल्दैमा अहिले नै हाउसफुल हुने पनि होइन ।

अहिलेको अवस्थामा निर्माताले राम्रो फिल्म दिन्छन् होला त ?

दिन्छन् होइन, दिने वातावरण बनाउनुपर्छ । हामी चलचित्र विकास बोर्डको रोहबरमा सरसल्लाह गरेर उहाँहरूका डिमान्ड, हाम्रा डिमान्ड लगायत सबै पक्षको छलफल गरेर निकास खोज्छौँ । अहिले हामी मात्र होइन, निर्माताहरू पनि पीडित हुनुहुन्छ । उहाँहरूले फिल्ममा गरेको लगानी अहिले फ्रिज भएर बसेको छ । हाम्रो पनि हल त्यतिकै बन्द छ । उहाँहरूले घरमा राखेर फिल्मको लगानी पनि उठ्दैन । फिल्म हलले पनि राम्रो कन्टेन्ट दिन सकेन भने हल खोल्नुको अर्थ छैन ।

हामी फिल्म हल र निर्माता आपसमा समझदारी गरेर अगाडि बढ्छौँ । यसको विकल्प पनि छैन । किनभने निर्माण, वितरण र प्रदर्शन एकअर्काको परिपूरक हुन् । फिल्म उद्योग चलायमान गराउन तीनै पक्षको महत्त्वपूर्ण भूमिका रहन्छ ।

फिल्मका लागि निर्माताले एमजी (मिनिमम ग्यारेन्टी)को माग गरेका छन् नि ?

यो विषयमा अहिले यसै भन्न सक्ने कुरो होइन । उहाँहरूसँग वार्ताको टेबुलमा बसेपछि उहाँहरूको डिमान्ड र हाम्रो भनाइ राख्दै अगाडि बढ्दै जाँदा निकास निस्कन्छ भन्ने छ । दुवै पक्षले ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी जसरी हुन्छ सहज तरिकाले निकास खोज्नुपर्छ । उद्योग चलायमान गराउनका लागि भए पनि हामीले के गर्न सकिन्छ छलफलबाट टुङ्ग्याउने छौँ । दुवै पक्ष सहभागी वार्ताबाट निकास निस्किन्छ भन्ने लागेको छ ।

फिल्म हल खोल्न राज्यबाट केकस्तो सुविधा मिल्यो त ?

प्रत्यक्ष सुविधा केही पाएका छैनौँ । हामीलाई परेको अप्ठ्यारो र राज्यले दिनुपर्ने सुविधाको विषयमा विभिन्न माग हामीले सरकारको सबै निकायमा पुर्याएका छौँ । राज्यबाट पनि हाम्रो माग सम्बोधन हुन्छ भन्ने लागेको छ । शासन व्यवस्था स्थिर नभएकाले हाम्रो माग ओझेलमा परिरहेको छ ।

अहिले धेरै हल बन्द भएका छन् नि ?

हल सञ्चालन भनेको व्यवसाय हो । व्यवसायमा सबैको आआफ्नो समस्या र आ­आफ्नै चलाउने तरिका हुन्छन् । कतिपयले भाडामा, कतिपयले ऋण र कतिपयले साझेदारीमा फिल्म हल चलाएका हुन्छन् । कोरोना लामो समयसम्म चलेका कारणले फिल्म हल व्यवसायीका विभिन्न समस्या छन् । सोही कारणले पनि १५, १६ वटा हल बन्द भए । बन्द भएका मात्र होइन, नयाँ र राम्रा फिल्म हलसमेत धेरै खुलेका छन् । त्यो पनि हेर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप